काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्ममा १४ वटा वाणिज्य बैंकको सीडी रेसियो घटेको छ भने ६ वटा वाणिज्य बैंकको सीडी रेसियो बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आवको सोही अवधिसम्मको तुलनामा औषत सीडी रेसियो १.९८ बिन्दु प्रतिशतले घटेको हो ।
गत आवको जेठ मसान्तसम्म औषत सीडी रेसियो ८०.४२ प्रतिशत थियो । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ७८.४४ प्रतिशतमा झरेको छ । जसमध्ये सबैभन्दा धेरै सीडी रेसियो प्रभु बैंकको घटेको छ । प्रभु बैंकको सीडी रेसियो ११.०८ बिन्दु प्रतिशतले घटेको छ।
गत आवको जेठ मसान्तसम्म प्रभुको सीडी रेसियो ८२.५८ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिसम्म आइपुग्दा ७१.५० प्रतिशतमा झरेको छ । यसैगरी, कृषि विकास बैंकको सीडी रेसियो ६.४२ प्रतिशत बिन्दुले घटदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीडी रेसियो ५.३२ प्रतिशतले घटेको छ । कृषिको सीडी रेसियो ८१.३८ बाट ७४.९६ प्रतिशतमा झरेको छ भन नेपाल इन्भेष्टमेन्ट मेगाको सीडी रेसियो ८१.१८ बाट ७५.८६ प्रतिशतमा झरेको छ ।
यो अवधिमा लक्ष्मी सनराईज बैंक, ग्लोबल आईपएमई बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकको सीडी रेसियो वृद्धि भएको छ । जसमध्ये सबैभन्दा धेरै लक्ष्मी सनराईजको सीडी रेसियो २.६५ प्रतिशत बिन्दुले वृद्धि भएको हो ।
चालु आवको जेठ मसान्तसम्म सबैभन्दा धेरै सीडी रेसियो सिटिजन्स बैंकको ८५.६० प्रतिशत रहेको छ भने सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको ६४.३१ प्रतिशत रहेको छ ।