वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४ दशमलव ४४ अर्थात् ७१ अर्ब ३६ करोड बढीका सामान भित्रिएका छन् ।
चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै एक खर्ब ७४ अर्ब नौ करोड रकमको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा ५२ अर्र्ब ५८ करोड रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको ११ महिनामा आयात र निर्यात दुवै सन्तोषजनक रहेको जानकारी दिए । “चालु आर्थिकको ११ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिन्छ”, उनले भने, “बजेटले उत्साह जगाएको पनि सो सम्भव भएको हो ।”
सो अवधिमा ३३ अर्ब १९ करोड मूल्यका मेसीनसी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै ३१ अर्ब ३९ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा २६ अर्ब २३ लाख मूल्य पर्ने सबै प्रकारका एलोपेथिक औषधिहरू भित्रिएका छन् ।
चालु आवको ११ महिनामा आयात मात्रै नभएर यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको ११ महिनामा ९१ अर्ब ५१ करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ । जबकी गत आवको ११ महिनाको अवधिमा भने यो नाका हुँदै २८ अर्ब ४४ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो ।
गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने २२१ दशमलव ७७ प्रतिशत अर्थात् ६३ अर्ब सात करोड बढीको निर्यात भएको हो । चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ ।
चालु आवको ११ महिनामा ५५ अर्ब तीन करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो ।
चालु आवको ११ महिनामा आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।