काठमाडौं । नेपालमा हरेक वर्ष आउने बाढी पहिरोका कारण अर्बाै रुपैयाँ सम्पत्ति र सयौँ जनाको ज्यान जानेक गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्षको असोजमा आएको अविरल वर्षा पश्चातको बाढी पहिरोका कारण ४६ अर्ब ६८ करोड रुपैयाँको धन सम्पत्ति क्षति भएको थियो । जहाँ २५० जनाको ज्यान गएको थियो ।
उक्त क्षतिपछि निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बढीको माग दाबी पेश भएको थियो । नेपाल बीमा प्राधिकरणका अनुसार ३ हजार ७१२ वटा बीमा दाबी पेश भएको थियो । तर, फेरि वर्षा याम लागिसकेको छ । बाढी पहिरो आउने बेला भइसक्यो । देशैभर मनसुन फैलिएको छ । गत वर्षभन्दा यस वर्ष धेरै पानी पर्ने र क्षति पनि गत वर्षको तुलनामा धेरै हुने विज्ञहरुले बताउँदै आएका छन् । फेरि ठुलो बाढी पहिरो आउने समय भइसक्यो । तर, बीमा कम्पनीहरुले गत वर्षकै दाबी भुक्तानी पूर्णरुपमा दिइसकेका छैनन् ।
कम्पनीहरुले गत वर्षको कुल माग दाबीको ५४ प्रतिशत पनि भुक्तानी दिएका छैनन् । १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ दाबी पेश भएकोमा कम्पनीहरुले अझै ६ अर्ब ७० करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी नै रहेको छ ।
कुन कम्पनीले कति भुक्तानी दिन बाँकी ?
सबैभन्दा धेरै दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी दिन बाँकी छ । यस कम्पनीले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी छ । यस कम्पनीमा १ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ माग दाबी पेश भएको थियो । जसमा कम्पनीले ८६.४८ प्रतिशत दाबी भुक्तानी गर्न बाँकी नै छ भने १३.५२ प्रतिशत मात्रै दाबी भुक्तानी गरेको छ ।
यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनले ८० करोड ४२ लाख, नेशनल इन्स्योरेन्सले ७८ करोड ४२ लाख, सानिमा जीआईसी इन्स्योरेन्सले ५७ करोड ९३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५७ करोड ७३ लाख रएनएलजी इन्स्योरेन्स कम्पनीले ५६ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी छ ।
९ महिनासम्म पनि किन सकिएन भुक्तानी ?
दाबी भुक्तानी ढिला हुनुको धेरै कारणहरु रहेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् । पुनर्बीमाबाट सेटलमेन्ट नहुनु, जलविद्युतको हकमा पुनस्थापना बीमा हुनु, बीमितले सबै कागजात बुझाउन ढिला गर्नु, को इन्स्योरेन्स लगायतका कारणले बीमा दाबी भुक्तानी लम्बिने गरेको दि ओरियन्टल इन्स्योरेन्स कम्पनीका सीईओ टोटन चक्रवती बताउँछन् ।
उनका अनुसार केही बीमाको दाबी भुक्तानीका लागि बीमितले आवश्यक सबै कागजात समयमा उपलब्ध नगराउने कारणले दाबी भुक्तानीमा ढिलाई हुन्छ । यसैगरी, विशेषगरी हाईड्रोपावरको बीमा गर्दा पुनस्थापना बीमा सम्झौता गरिएको हुन्छ । यसमा क्षति भएपछि सबै निर्माण सोही हाइड्रोवापरले गर्दछ । पुन निर्माण गरिए अनुसार कम्पनीहरुले भुक्तानी दिने व्यवस्था छ ।
यस अवस्थामा हाइड्रोपावरको पुननिर्माण कार्य नै लम्बिने हुँदा भुक्तानी ढिलाई हुने गरेको उनको भनाई छ । यसका साथै को इन्स्योरेन्स गरेको अवस्थामा लिडर कम्पनीले सबै कागजात नपठाएको अवस्थामा पनि भुक्तानी ढिला हुने गरेको उनले बताए ।
दि ओरियन्टलले १८३ दाबी मध्ये १७० वटा दाबी भुक्तानी गरेको र बाँकी १३ वटामा पनि २,३ वटा दाबी ठुलो रकमको भुक्तानी हुन बाँकी भएकाले धेरै रकम बाँकी देखिएको उनको तर्क छ । उक्त बाँकी रहम पनि सोही कारणबाट ढिला भएको सीईओ चक्रवतीले बताए ।
उनका अनुसार कम्पनीले अबको एक साता भित्र नै थप ५० करोड रुपैयाँ भुक्तानी गर्दै छ । यता, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीका सीईओ सुद्युम्न प्रसाद उपाध्यायका अनुसार क्षति भएको ९ महिनासम्म ४५ प्रतिशत दाबी भुक्तानी हुनु भनेको राम्रो रहेको बताए । उनले भनेर्, ४५ प्रतिशत भुक्तानी भइसकेको छ भने त्यो त धेरै राम्रो भुक्तानी हो नि ।’ उनका अनुसार बाढीले क्षति ठुलो क्षति हुने भएकाले यसको पूर्ण दाबी भुक्तानी गर्न सामान्य रुपमा पनि ढेड वर्ष लाग्ने गर्दछ । प्रक्रियाले गर्दा नै एक, ढेड वर्ष समय लाग्ने उनको भनाई छ ।
उनले भने, 'क्षति भएको एक दुई महिना बीमितले के गर्ने भन्ने नै डिसाईट गर्न सकेको हुँदैन । ठुलो कार्गाेहरुको छ भने त्यसको मुभमेन्टदेखि धेरै विषयहरु रहेको हुन्छ । क्याटस्टफिकमा टीएटी (टन अराउन्ट टाईम) नै धेरै हुन्छ । यसले गर्दा भुक्तानीमा ढिला हुन्छ ।’
के भन्छन् जानकार ?
दाबी भुक्तानीमा ढिलाई हुनुमा धेरै फ्याक्टरहरुले काम गर्ने गरेको बीमा विज्ञहरुले बताएका छन् । बीमा विज्ञ डा. रविन्द्र घिमिरेका अनुसार नियामक निकायको नियामकिय भुमिका, कम्पनीहरुको नाफामुखी सोच र बीमितहरुमा धेरै दाबी पेश गर्ने प्रचलनले दाबी भुक्तानीमा ढिला सुस्ति हुने गरेको छ ।
नियामक निकाय बीमा प्राधिकरणले कम्पनीहरुलाई दाबी भुक्तानीमा दबाब नदिदा वा दाबी भुक्तानी ढिला गरे पनि प्राधिकरणले वेवास्था गर्दा झन ढिला भइरहेको उनी बताउँछन् । कम्पनीहरुले नाफा धेरै कमाउने मनसायले गर्दा ढिला भुक्तानी दिने गर्दछन् । यसैगरी, बीमितले पनि धेरै रकम पाइने लोभका कारण रियल क्षतिभन्दा धेरै दाबी गर्दछन् । यिनै कारणले गर्दा पनि भुक्तानीमा ढिला हुने गरेको उनको भनाई छ ।
यसैगरी, क्षति मुल्याङनका लागि नयाँ नयाँ प्रविधिको प्रयोग, सर्भेयरहरुलाई तालिम दिने, दक्ष जनशक्ती उत्पादन गर्ने गरेर दाबी फर्छौट छिटो बनाउन सकिने उनले बताए ।
विपद र भैपरि आइपर्ने ठुला क्षतिको दाबी भुक्तानीका लागि सबै बीमा कम्पनीहरुले छुट्टै एउटा कोष स्थापना गर्ने र सोही कोषबाट भुक्तानी गर्दा दाबी भुक्तानीमा सुधार आउने उनको भनाई छ ।
दाबी भुक्तानीबारे के भन्छ नियामक ?
दबी भुक्तानीबारे बीमा कम्पनीहरुलाई दबाब दिइरहेको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका निर्देशक शाम्बा राज लामिछानेका अनुसार कम्पनीका सीईओहरुलाई बोलाएर बारम्बार दबाब दिइदै आएको बताए ।
उनले भने, 'सर्भेयर रिपोर्ट आएको ३५ दिनभित्र भुक्तानी गरिसक्नुपर्ने कानूनी प्रवधान रहेकोमा कम्पनीहरुले ढिलो गरेको विषयमा हामिले निर्देशन दिइरहेका छौँ । आवश्यक परे हामि कारबाही पनि गर्दछौँ ।’
तर, कतिपय अवस्थामा एसेसमेन्ट गर्न ढिला हुँदा दाबी भुक्तानीमा ढिला हुने गरेको घटना पनि रहेको उनी बताउँछन् । यसका साथै अन्य धेरै कारणहरु रहेको जानकारी दिइदै उनले भने, 'भुक्तानी रोक्नुपर्ने कारण नभएको अवस्थामा पनि कम्पनीहरुले ढिला गर्ने गरेको पाइएमा हामि कानूनि कारबाही गर्दछौँ ।’
लक्ष्मण लम्साल