शीर्षकहरू

भारतमा निर्यात खुलेपछि भटमासको तेल उत्पादन ६४१ प्रतिशतले वृद्धि, उत्पादन क्षमताको १०७ प्रतिशतमा उद्योग सञ्चलानमा

भारतमा निर्यात खुलेपछि भटमासको तेल उत्पादन ६४१ प्रतिशतले वृद्धि, उत्पादन क्षमताको १०७ प्रतिशतमा उद्योग सञ्चलानमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भटमासको तेल उत्पादन सबैभन्दा बढी वृद्धि भएको छ  । नेपाल राष्ट्र बैंकले गरेको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदन अनुसार भटमासको तेल उत्पादन सबैभन्दा बढी ६४१.०५ प्रतिशतले वृद्धि भएको हो । साथै यसअवधिमा घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढी ७९.५३ प्रतिशतले घटेको छ । 

अघिल्लो बर्षको सोही अवधिमा भारतीय बजारमा भटमासको तेल निर्यात बन्द रहेकोले आधार अवधिमा उत्पादन थोरै मात्रमा भएको देखिन्छ ।  समीक्षा अवधिको शुरुवात देखि नै भटमासको तेल भारततर्फ निर्यात भइरहेकाले उत्पादनमा उल्लेखनीय वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा भटमास तेलको उत्पादन क्षमताको १४.५ प्रतिशत रहेकोमा समीक्षा अवधिमा उत्पादन क्षमताको १०७.१ प्रतिशतमा उद्योगहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । 

विगतमा भटमास तेलको निर्यात भारतीय बजारमा बन्द रहेकोमा समिक्षा अवधिमा भारतीय बजारमा निर्यात भइरहेकाले उत्पादन क्षमता भन्दा पनि बढीमा उद्योगहरु सञ्चलानमा रहेको देखिन्छ । त्यसैगरी घरेलु धातुका सामानहरुको न्यून माग तथा भारतीय बजारमा उक्त सामानहरु सस्तोमा पाईने कारणले निरन्तर घरेलु धातुका सामानहरु उत्पादन घट्दै गएको देखिन्छ ।

अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा भटमासको तेल ६४१.१ प्रतिशत, कच्चा छाला उत्पादन १४३.१ प्रतिशत, इँट्टा उत्पादन ८७.५ प्रतिशत, तोरीको तेल उत्पादन ३९.३ प्रतिशत, प्रशोधित दुध उत्पादन ३०.६ प्रतिशत, फलामे छड, पत्ति तथा सामानहरुको उत्पादन २३.१ प्रतिशत, चाउचाउ उत्पादन १६.७ प्रतिशत, गार्मेण्ट उत्पादन १३.२ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, घरेलु धातुका सामानको उत्पादन ७९.५ प्रतिशत, जि.आई तार उत्पादन ६०.२ प्रतिशत, साबुन २७.२ प्रतिशत, चिनी उत्पादन २५.९ प्रतिशत, सिमेण्टको उत्पादन २४.२ प्रतिशत, चप्पल उत्पादनमा १६.४ प्रतिशतले घटेको छ । 

null

कच्चा छाला उत्पादन र इँट्टा उत्पादन गर्ने उद्योगहरुको आधार अवधिको उत्पादन अत्याधिक न्युन रहेका कारण समीक्षा अवधिमा उत्पादन परिमाणमा उल्लेखनीय वृद्धि नभएतापनि प्रतिशत परिवर्तन उच्च देखिन्छ । घरेलु धातुका सामानको बजारमा मागमा आएको अत्याधिक कमीका साथै आयातित घरेलु धातुका सामानको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा निरन्तर रुपमा उत्पादन घटेको देखिन्छ । 

मागमा आएको कमी तथा गत वर्षको मौज्दात बाँकी रहेका कारण जि.आई तार, साबुन, आदिको उत्पादन घटेको देखिन्छ । उखु उत्पादन कम हुनुका साथै रिकभरी दर पनि कम भएकोले चिनीको उत्पादन घटेको देखिन्छ भने ठुला आयोजनाहरुको निर्माणले गति लिन नसक्नुका साथै सार्वजनिक निर्माणमा आएको कमीका कारण सिमेण्टको उत्पादन घटेको देखिन्छ ।

उद्योगहरुको औसत क्षमता उपयोग ४८.६ प्रतिशत 

आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा कोशी प्रदेशका नमुना छनोटमा समेटिएका ४३ वटा उद्योगहरुको औसत क्षमता उपयोग ४८.६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा विशेषगरी भटमासको तेल, कच्चा छाला, इँट्टा, तोरीको तेल, आदि उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा वृद्धि भएकाले उद्योगहरुको औसत क्षमता उपयोगमा समेत केही वृद्धि भएको देखिन्छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरु क्रमशः भटमासको तेल, टायर तथा ट्युब, गार्मेण्ट चाउचाउ, प्रशोधित चिया उत्पादन गर्ने समूहका उद्योगहरु रहेका छन्भने कम क्षमता उपयोग गर्ने उद्योगहरु घरेलु धातुका सामान, वनस्पती घिउ, सिमेण्ट, कच्चा छाला उत्पादन गर्ने समूहका उद्योगहरु रहेका छन्। 

भटमासको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी १०७.१ प्रतिशत रहेको छ भने घरेलु धातुका सामान उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.३ प्रतिशत रहेको छ । औसतमा ५० प्रतिशत वा सो भन्दा बढी क्षमता उपयोग गर्ने उद्योग समूहहरु १२ वटा रहेका छन् । ५० प्रतिशत भन्दा कम क्षमता उपयोग गर्ने उद्योग समूहहरूको संख्या १३ वटा रहेको छ ।

null

औद्योगिक कर्जा ५.६ प्रतिशतले वृद्धि

२०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कोशी प्रदेशमा प्रवाहित कुल औद्योगिक कर्जा ५.६ प्रतिशतले वृद्धि भई १ खर्ब ४७ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षकोसोही अवधिमा उक्त कर्जा १ खर्ब ३९ अर्ब ६६ करोड रहेको थियो । 

२०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा विद्युत, ग्यास तथा पानी सम्बन्धी उत्पादन गर्ने उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १४.४ प्रतिशतले वृद्धि भएको हुँदा समग्र औद्योगिक कर्जा बढेको देखिन्छ । खानी सम्बन्धी क्षेत्रमा प्रवाह भएको कर्जा सबैभन्दा बढी १६.१ प्रतिशतले घटेको छ ।

औद्योगिक कर्जामध्ये सबैभन्दा ठुलो अंश गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगको ५३.४ प्रतिशत र सबैभन्दा कम अंश खानी सम्बन्धी उद्योगको ०.४ प्रतिशत रहेको छ ।

null

औद्योगिक क्षेत्रमा रोजगारी घट्यो 

कोशी प्रदेशका ४३ वटा उद्योगहरुमा गत आ.व.२०८०/८१ को पहिलो ६ महिनामा १७ हजार ७२० जना श्रमिक कार्यरत रहेकोमा समीक्षा अवधिमा ती उद्योगहरुमा जम्मा १७ हजार ३६२ जना श्रमिक कार्यरत रहेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा २.० प्रतिशतले घटेको देखिन्छ । 

सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाका उद्योगहरुमा क्रमशः ०.९ प्रतिशत, २.७ प्रतिशत, ५.८ प्रतिशत र १८.४ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।  इलाम जिल्लाको रोजगारीको अवस्थामा कुनै परिवर्तन भएको देखिदैन ।

समीक्षा अवधिमा औद्योगिक रोजगारीमा पुरुषको संख्या ६९.५ प्रतिशत र महिलाको संख्या ३०.५ प्रतिशत रहेको छ । अध्ययन क्षेत्रका उद्योगहरुमा कुल औद्योगिक रोजगारीको ९१.६ प्रतिशत श्रमिक स्वदेशी र ८.४ प्रतिशत श्रमिक विदेशी रहेका छन् । 

विशेष गरी फलामको छड, पत्ति तथा सामान, इँटा, धागो र जुटका सामान उत्पादन गर्ने उद्योगहरूमा तुलनात्मक रुपमा अन्य उद्योगहरूमा भन्दा बढी अनुपातमा विदेशी कामदारहरूलाई रोजगारी प्रदान गरिएको देखिन्छ ।