काठमाडौं । सरकारले १३ वर्ष पछि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकको न्यूनतम् ज्याला तोकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ को दफा २३ अनुसार मन्त्री स्तरीय निर्णयबाट श्रमिकको ज्याला तोकेको हो । मन्त्रालयले तोकेको ज्याला राजपत्रमा प्रकाशित गरिएको छ ।
युएईमा नेपाल लगायतका १९२ वटा मुलुकका नागरिक श्रमिकको रुपमा कार्यरत छन् । नेपाली श्रमिकको संख्या करिब ६ लाख पुगेको अनुमान छ । युएईमा पुग्ने अधिकांश नेपाली श्रमिक अदक्ष र अर्धदक्ष छन् ।
श्रम मन्त्रालयले युएईमा जाने अदक्ष श्रमिकको पारिश्रमिक एक हजार चार सय दिराम (५२ हजार ३४६ रुपैयाँ) न्यूनतम् पारिश्रमिक तोकेको छ । जसमध्ये मासिक पारिश्रमिक एक हजार दिराम (३७ हजार ३९० रुपैयाँ) र मासिक खाना खर्च ४०० (१४ हजार ९५६ रुपैयाँ) तोकेको छ ।
अर्धदक्ष श्रमिकको लागि एक हजार ६ सय दिराम (५९ हजार ८२४ रुपैयाँ) तोकेको छ । मासिक पारिश्रमिक एक हजार २०० दिराम (४४ हजार ८६८ रुपैयाँ) र मासिक खाना खर्च ४०० दिराम (१४ हजार ९५६ रुपैयाँ) तोकेको छ ।
दक्ष श्रमिकको लागि एक हजार ९०० दिराम (७१ हजार ०४१ रुपैयाँ) निर्धारण गरेको छ । मासिक पारिश्रमिक एक हजार ५०० दिराम (५६ हजार ०८५ रुपैयाँ) र मासिक खाना ४०० दिराम तोकेको छ ।
उच्च दक्ष श्रमिकको लागि ६ हजार ४०० दिराम (२३ हजार ९२९९ रुपैयाँ) तोकिएको छ । मासिक पारिश्रमिक ६ हजार दिराम (२२ हजार ४३४२ रुपैयाँ) र मासिक खाना खर्च ४०० दिराम तोकेको छ ।
यस अघि सन् २०१२ मा नेपाली श्रमिकको न्यूनतम् पारिश्रमिक ८०० दिराम तोकिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले बताए । ‘सरकारले १३ वर्ष पछि पारिश्रमिक पुनरावलोकन गरेको छ । यसलाई सकारात्मक रुपमा लिएका छौ,’ उनले भने ।
नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक भने कार्यान्वयन हुनेमा श्रमिकहरू विश्वस्त छैनन् । नेपालबाट युएई पुग्ने अधिकांश श्रमिकसँग रोजगारदाताले दुई वटा श्रम सम्झौता गरेको हुन्छ । श्रमिकलाई नेपालमा नै दिइने श्रम सम्झौतामा मासिक पारिश्रमिक सहित सेवा सुविधा राखिएको हुन्छ । श्रमिक युएईमा पुगेपछि सो श्रम सम्झौता च्यातिन्छ र नयाँ सम्झौता पत्र दिइन्छ । जसमा पारिश्रमिक ४४० दिरामसम्म हुने गरेको युएईमा बस्दै आएका टंक पौडेलले बताए । ‘ओभरटाइम गरी दैनिक १२ घण्टासम्म काम गरेर भने नेपाली श्रमिक मुश्किलले ९०० दिरामसम्म आम्दानी गर्न सक्छन्,’ उनले भने ।
सरकारले तोकेको श्रम सम्झौता कार्यान्वयन लागि नेपाल सरकारले युएई सरकारसँग श्रम सम्झौता गर्नुपर्ने गैर आवासीय नेपाली समन्वय समिति युएईका महासचिव भुवन कुमार वाग्लेले बताए । ‘नेपाल र युएईमा बीच श्रम सम्झौता गरेर, सम्झौतामा नै पारिश्रमिकको विषयमा राखियो भने कार्यान्वयन हुन सक्छ,’ उनले भने । सरकारले श्रम सम्झौता गरेपछि नै यो परिपक्व हुन्छ ।
श्रम मन्त्रालयले तोकेको न्यूनतम् पारिश्रमिक पनि वैज्ञानिक नभएको सम्बद्ध व्यक्तिहरू बताउँछन् । मन्त्रालयले युएईमा नेपाली महिला घरेलु श्रमिकको रुपमा पठाउन लागि तयार पारिएको पाइलट प्रोजेक्टलाई बल पुग्ने पारिश्रमिक बढाएको मन्त्रालयका एक अधिकारीले बताए ।
कतार सरकारले न्यूनतम् पारिश्रमिक एक हजार ३०० कतारी रियाल (४८ हजार ७२४ रुपैयाँ) तोकेको छ । मासिक पारिश्रमिक भने ३०० रियाल (३७ हजार ४८० रुपैयाँ) र मासिक खाना बस्नको लागि ३०० रियाल (११ हजार २४४ रुपैयाँ) तोकेको छ ।
मलेसिया सरकारले भने श्रमिकको न्यूनतम् पारिश्रमिक एक हजार ७०० रिंगेट (५५ हजार २०५ रुपैयाँ) तोकेको छ ।
आर्थिकन्यूज