काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था अनुपात दुवैमा उल्लेखनीय रुपमा बढेको छ । थोक कर्जा प्रदायक तथा खुद्रा कर्जा प्रदायक दुवै प्रकारका लघुवित्त वित्तीय संस्थाहरुको कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था दुवै बढेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-८२ तेस्रो त्रयमासको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा यस्तो उल्लेख छ। राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरुको पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ ।
नोक्सानी व्यवस्था अनुपात बढ्यो
२०८१ चैत मसान्तमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ । लघुवित्त संस्था सुपरिवेक्षण विभागको प्रतिवेदन अनुसार २०८१ चैत मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८१ असार मसान्तको तुलनामा १०.५४ प्रतिशतले बढेर २ अर्ब १९ करोड पुगेको छ । जसमध्ये, निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था २०८१ असार मसान्तको तुलनामा २७.९९ प्रतिशतले वृद्वि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ३२.२६ प्रतिशतले र निष्क्रिय कर्जामा गरिएको नोक्सानी व्यवस्था रकम १६४.४३ प्रतिशतले बढेको थियो।
यस्तै, २०८१ चैत मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था २०८१ असार मसान्तको तुलनामा ३१.२८ प्रतिशतले बढेर २६ अर्ब २४ करोड पुगेको छ । जसमध्ये, निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था २०८१ असार मसान्तको तुलनामा १७.८५ प्रतिशतले वृद्वि भई १५ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम २५.५४ प्रतिशतले तथा निष्क्रिय कर्जामा गरिएको नोक्सानी व्यवस्था रकम ३८.७९ प्रतिशतले बढेको थियो।
२०८१ चैत मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जामा केही ह्रास आएको छ भने लघु व्यवसाय कर्जामा वृद्धि भएको देखिन्छ । २०८१ चैत मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जासँग कुल कर्जा तथा सापटको अनुपात १६.८० प्रतिशत रहेको छ । यस्तो अनुपात २०८१ असार मसान्तमा १८.९९ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८१ चैत मसान्तसम्ममा ५२ वटा लघुवित्त कायम रहेका छन् । सोमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ४९ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् । यी लघुवित्तहरुमा १४ लाख ६२ हजार समुह, ६१ लाख ६२ हजार सदस्य तथा २६ लाख ९६ हजार ऋणी रहेका छन् ।
थोक कर्जा प्रदायकको कर्जा तथा सापटमा ह्रास, निष्क्रिय कर्जा बढ्यो
२०८१ चैत मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापट रकममा ह्रास आएको छ भने निष्क्रिय कर्जा रकम वृद्वि भएको छ । २०८१ चैत मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा ४७ अर्ब ६७ करोड पुगेको छ । जुन २०८१ असारको तुलनामा ११.४९ प्रतिशतले कम हो ।
समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १ अर्ब ४० करोड अर्थात २.९३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा निष्क्रिय कर्जा १३ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा १२.०६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा २३१.०५ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा ११.३० प्रतिशतले घटेको थियो ।
खुद्रा कर्जा प्रदायकको निष्क्रिय कर्जा ७.२५ प्रतिशत
२०८१ चैत मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेख्य वृद्वि भएको छ भने कुल कर्जा तथा सापटमा सामान्य वृद्धि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८१ असार मसान्तको तुलनामा ८.१८ प्रतिशतले बढेर २०८१ चैत मसान्तमा ४ खर्ब ३४ अर्ब ८७ करोड पुगेको देखिन्छ ।
यसैगरी, २०८१ चैत मसान्तमा निष्क्रिय कर्जा ३१ अर्ब ५३ करोड अर्थात ७.२५ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ६.१७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर २७.०४ प्रतिशत रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ४६.६४ प्रतिशतले बढेको थियो।
कृषि क्षेत्रमा ५२.६६ प्रतिशत कर्जा
२०८१ चैत मसान्तमा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । २०८१ चैत मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको ५२.६६ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । कृषि क्षेत्रमा २०८१ असार मसान्तमा ४९.८१ प्रतिशत कर्जा प्रवाह भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्येसेवा व्यवसाय क्षेत्रमा २३.१९ प्रतिशत, थोक कर्जामा ९.८८ प्रतिशत, घरेलु तथा लघु उद्योग क्षेत्रमा ३.५१ प्रतिशत तथा अन्य क्षेत्रमा १०.७७ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।
वित्तीय स्रोत संकलन थोकको घट्दा खुद्राको बढ्यो
प्रतिवेदनका अनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको सापटी रकममा ह्रास आएको छ । यस्ता लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख वित्तीय श्रोत पुँजी र सापटी रहेको छ । २०८१ चैत मसान्तमा थोक लघुवित्त वित्तीय संस्थाहरूले ४१ अर्ब ९२ करोड वित्तीय श्रोत संकलन गरेका छन् । जुन २०८१ असार मसान्तको तुलनामा १०.३४ प्रतिशतले कम हो ।
लघुवित्त वित्तीय संस्थाहरुले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय श्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ । २०८१ चैत मसान्तमा यी संस्थाहरुको वित्तीय श्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पुँजीको ३.८५ गुणा मात्र रहेको छ ।
यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले बचत/निक्षेप र सापटी रकम बढाएका छन्। २०८१ चैत मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले बचत÷निक्षेप संकलन १ खर्ब ८८ अर्ब ४७ करोड र सापटी १ खर्ब ९७ अर्ब ७० करोड गरी जम्मा ३ खर्ब ८६ अर्ब १७ करोड वित्तीय श्रोत संकलन गरेका छन् । कुल वित्तीय श्रोत संकलन रकम अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को तेश्रो त्रयमासमा ७.६४ प्रतिशतले बढेकोमा चालु आर्थिक वर्षको तेश्रो त्रयमासमा भने ७.०८ प्रतिशतले मात्र बढेको छ ।
लघुवित्त वित्तीय संस्थाहरुले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय श्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेकोमा २०८१ चैत मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय श्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पूँजीको ८.६५ गुणा मात्र पुगेको छ ।
लगानी घटेपनि मुनाफा बढ्यो
लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा कमी आएको छ । २०८१ चैत मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी २०८१ असार मसान्तको तुलनामा २.५६ प्रतिशतले घटेर ९ अर्ब ९३ करोड मा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षकोसोही अवधिमा कुल लगानी १७.०२ प्रतिशतले बढेको थियो ।
लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०८१ चैत मसान्तसम्म ८ अर्व ५ करोड लगानी गरेका छन् । जुन रकम २०८१ असार मसान्तको तुलनामा २.३२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम २७.३५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अघिल्लो आर्थिक बर्षको तेश्रो त्रयमासको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा वृद्वि भएको छ ।२०८१ चैत मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी ३ अर्ब १४ करोड र ब्याज खर्च १ अर्ब ४१ करोड रहेको छ । समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले ८४ करोड खुद मुनाफा गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तेश्रो त्रयमाससम्मको तुलनामा ८.५६ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा उल्लेख्य वृद्वि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको २०८० चैत मसान्तमा खुद मुनाफा १ अर्ब ८८ करोड रहेकोमा २०८१ चैत मसान्तमा ८१.७५ प्रतिशतले वृद्वि भई खुद मुनाफा ३ अर्ब ४१ करोड पुगेको छ ।
समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी ४० अर्ब ४८ करोड र ब्याज खर्च २१ अर्ब ७८ करोड रहेको छ । यस अवधिमा सञ्चालनमा रहेका ४९ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये ८ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ ।
निक्षेप संकलन गर्नेको तरल सम्पत्तिमा ह्रास, नगर्नेको बढ्यो
राष्ट्र बैंकको प्रतिवेदन अनुसार २०८१ चैत मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ । उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति ५ खर्ब ९० अर्ब ४ करोड पुगेको छ । जुन २०८१ असार मसान्तको तुलनामा १०.९६ प्रतिशतले बढी हो । २०८१ चैत मसान्तमा कुल जोखिम भारित सम्पत्ति कुल सम्पतिको ९२.८० प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा ह्रास आएको छ । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरु निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र रहेका छन्। २०८१ चैत मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्ति २०८१ असारको तुलनामा २८.२३ प्रतिशतले घटेर ५ अर्ब ५१ करोड कायम भएको छ ।
सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८१ चैत महिनाको वैधानिक तरलता अनुपात र अनिवार्य मौज्दात अनुपात क्रमशः ४ प्रतिशत र ३.२५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको कुल तरल सम्पत्तिमा वृद्वि भएको छ । सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८१ चैत मसान्तमा तरल सम्पत्ति २०८१ असारको मसान्तको तुलनामा ११.८५ प्रतिशतले वृद्वि भई ३१ अर्ब १८ करोड पुगेको छ ।
समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात बढेको छ । समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८१ चैत महिनाको अनिवार्य मौज्दात अनुपात ०.६३ प्रतिशत रहेको छ ।
पुंँजीकोषको स्थिति समग्रमा सन्तोषजनक
राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरुको पुंँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ । केन्द्रीय बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. १. ०८१ मा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।
२०८१ चैत मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १०.४८ प्रतिशत र ११.९० प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी ६.८७ प्रतिशतले र जोखिम भारित सम्पत्ति ६.८४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ४.२९ प्रतिशत र ५.३२ प्रतिशतले बढेको थियो ।
२०८१ चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा सुपर लघुवित्त वित्तीय संस्थाको पुँजीकोष ८ प्रतिशत भन्दा कम रहेको देखिन्छ । सुपर लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिमको कारवाही गरेको छ । अन्य ५१ वटा लघुवित्त वित्तीय संस्थाहरूले पुंँजीकोष सम्बन्धी उक्त निर्देशनको पालना गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।