शीर्षकहरू

एसईईको नतिजा सार्वजनिक,६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड'

एसईईको नतिजा सार्वजनिक,६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड'

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ।त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् भने ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । २.४ देखि २.८ सम्म ४८ हजार ४७९ ले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जीपीए पाएका छन् भने ८ जना २ जीपीएभन्दा कम ल्याएका छन् । त्यस्तै, १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।

वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।