काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २२ ले अल्गापुरी विद्यालयले बनाएको अवैध संरचना भत्काउन निर्देशन दिएको छ । विद्यालयले राजकुलो मिचेर अवैध संरचना बनाए पछि महानगरपालिकाले भत्काउन निर्देशन दिएको हो ।
ललितपुरको चुगंमतिमा अवस्थित अल्गापुरी विद्यालयले राजकुलो मिचेर संरचना बनाएको भन्दै वडा कार्यालयमा उजुरी परेको थियो । स्थानियबासिले विद्यालयले सार्वजनिक जग्गा मिचि अवैध संरचना बनाएको र सो संरचना बनाउँदा बाटोमा पानिको भेल बग्ने गरी बनाइएको लगायतको आरोप सहित गत जेठ ३० गते वडा कार्यालयमा उजुरी दिएका थिए । उजुरी पछि वडा कार्यालयले अनुगमन गरेको थियो ।
अनुगमन गर्दा विद्यालयले मापदण्ड विपरित संरचना बनाएको पुष्टि भएको वडाध्यक्ष सागर तुलाधरले बताए । उनले भने, ‘स्थानियको उजुरी पछि हामिले अनुगमन गर्दा विद्यालयले मापदण्ड विपरित अवैध संरचना बनाएको पाइयो । त्यो संरचना भत्काउन हामिले निर्देशन दिएका छौँ ।’ उनका अनुसार राजकुलोबाट ३ मिटर छोडेर मात्रै संरचना बनाउँनु पर्ने मापदण्ड रहेको छ । तर, अल्गापुरी विद्यालयले राजकुलोसँगै जोडेर संरचना बनाएको पाइएपछि सो संरचना हटाउन निर्देशन दिएको उनले आर्थिक न्यूजलाई जानकारी दिए ।
गत असोज १० गते आएको अविरल वर्षापछि सो विद्यालयसँगै जोडिएको बाटो भत्किएको थियो । तर, विद्यालयले सोही बाटोतिर पानिको भेल बग्नेगरी पर्खाल बनायो । यसरी अवैध पर्खाल बनाउँदा पानिको भेल बाटोमा गएर बाटो भत्किने, वर्षा हुँदा बाटो पुरै पानिले पुरिने अवस्था सृजना भएको एक स्थानियले गुनासो गरे ।
पानीको भेलले स्थानिय बासीको दैनिकी नै प्रभावित भएपछि वडा कार्यालयमा उजुरी दिइएको स्थानियबासीले आर्थिक न्यूजलाई बताए । यदि सो स्कुलले अवैध संरचना नभत्काएमा सबै स्थानिय सडका उत्रिएर प्रतिवाद गर्ने पनि उनले चेतावनी दिए ।
यता विद्यालयका निर्देशक रिस्व गोर्खालिले भने आफुहरुले मापदण्ड विपरितको कुनै पनि काम नगरेको दाबी गरेका छन् । उनले भने, ‘हामिले सबै मापदण्ड अनुसारकै संरचना बनाएका छौँ, यहाँहरुले आएर हेर्न पनि सक्नुहुन्छ ।’ विभिन्न जग्गा दलालहरुले राजकुलो नै मोडेको, आफ्नो स्वार्थ पुरा नहुँदा विद्यालय विरुद्ध उजुरी दिएको उनले दाबी समेत गरे ।
उक्त विद्यालय नेपाल युथ फाउन्डेसन नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको हो । सो संस्था समाज कल्याण परिषदमा दर्ता छ । उक्त विद्यालय कांग्रेस नेतृ आरजु राणाले सञ्चालन गरेको भन्ने चर्चा रहेको छ ।