काठमाडौ । बागमती प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोगमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदन अनुसार ७.२ प्रतिशत विन्दुले घटेको हो ।
केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८१-८२ को पुससम्ममा बागमती प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ३३.८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग ४१.० प्रतिशत रहेको थियो।
नमुना छनौटमा परेका उद्योगहरुमध्ये जलविद्युत उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९९.९ प्रतिशत क्षमता उपयोग गरेकोछ । यस्तै औषधी मध्येको ओइन्टमेन्टको उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् ७.० प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा नमुना छनौटमा समेटिएका उद्योगहरुका उत्पादनमध्ये वियर, हल्का पेय पदार्थ, बिजुली, पशुदाना तथा चुरोट उत्पादन गर्ने उद्योगहरुको उत्पादन बढेको छ भने प्रशोधित दुध, सिमेन्ट, ट्याब्लेट, क्याप्सुल, ड्राईसिरप, लिक्विड, ओइन्टमेन्ट, चाउचाउ, रंग, गार्मेन्ट, कपडाको जुत्ता, इँटा, ट्रान्सफर्मर उत्पादन गर्ने उद्योगहरुको उत्पादन घटेको छ ।
समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरुले ७ हजार ९७ स्वदेशी र १२८ विदेशी गरी कुल ७ हजार २२५ जनालाई रोजगारी प्रदान गरेका छन ।समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३६.६ प्रतिशत रहेको छ ।
औद्योगिक कर्जा भने बढ्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशको औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ३६.६ प्रतिशतले वृद्धि भई.११ खर्ब ७९ अर्ब ६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.८ प्रतिशतले बढेर ९ खर्ब ७३ अर्ब ५७ करोड पुगेको थियो।
यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २१.७१ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी १० खर्ब ८९ अर्ब ६७ करोड (९२.४ प्रतिशत) कर्जा लगानी रहेको छ । रसुवा जिल्लामा सबैभन्दा कम अर्थात् करिब १३ करोड कर्जा (०.०१ प्रतिशत) लगानी रहेको छ ।
२०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा प्रवाहित औद्योगिक कर्जा मध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी (३३.५ प्रतिशतले) वृद्धि भएको छ । विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योगमा २९.९ प्रतिशतले, निर्माण उद्योगमा १८.५ प्रतिशतले, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा १३.६ प्रतिशतले र खानी सम्बन्धी उद्योगमा १३.५ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ७.८ प्रतिशतले घटेको छ । कुल औद्योगिक कर्जामध्ये विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी (३४.१ प्रतिशत) रहेको छ भने सबैभन्दा कम कर्जा विस्तार खानी सम्बन्धी उद्योगमा (०.७ प्रतिशत) रहेको छ।
त्यसैगरी, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ३३.८ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा १५.३ प्रतिशत, निर्माण उद्योगमा १२.५ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ३.७ प्रतिशत कर्जा प्रवाह भएको छ ।
बैंक तथा वित्तीय संस्थाले यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०८० पुस मसान्तको तुलनामा ७.९ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा ४४ खर्ब ७४ अर्ब ६० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.८ प्रतिशतले वृद्धि भएको थियो।
यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा २०८० पुस मसान्तको तुलनामा १९.३ प्रतिशतले वृद्धि भई ३२ खर्ब २० अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ०.६ प्रतिशतले वृद्धि भएको थियो। २०८१ पुस मसान्तमा कर्जा निक्षेप अनुपात ७१.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६५.५ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा अध्ययनमा समेटिएका होटलहरुको औसत क्षमता उपयोग (अकुपेन्सी) ५२.५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा अध्ययनमा समेटिएका होटलहरुको औसत क्षमता उपयोग ५०.६ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन संख्या ६.८ प्रतिशतले घटेको छ भने रजिष्ट्रेशनबाट प्राप्त हुनेराजस्व ८.८ प्रतिशतले बढेको छ ।
बागमती प्रदेशमा निर्माणाधीन रहेका बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना, याङ्गग्रेलार्के नदी डाईभर्सन (मेलम्ची खानेपानी आयोजना दोस्रो चरण) जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू र गल्छी–त्रिशुली–मैलुङ्ग– –स्याफ्रुबेसी–रसुवागढी सडक योजना लगायतका आयोजनाहरुकोकार्यान्वयन तीव्र रुपमा अघि बढी रहेको छ ।
आर्थिक वर्ष २०८१-८२ को पुस मसान्तसम्ममा बागमती प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ६५ हजार ६ सय १७ रहेको छ । त्यसैगरी, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पुस मसान्तसम्ममा २ सय २८ व्यक्तिले रोजगारी प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०८१-८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, ११.१ प्रतिशत र ७७.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार आर्थिक वर्ष २०८१-८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०८०-८१ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहने संशोधित अनुमान रहेको छ । आर्थिक वर्ष २०८१-८२ कोकुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।