काठमाडौं । ९२ प्रतिशत अभिभावक अनलाइन सुरक्षाको विषयमा जानकार नभएको एक अध्ययनले देखाएको छ । चाइल्डसेफ नेटले अभिभावक र बालबालिकाहरूमा गरेको अध्ययनले केही अभिभावकहरूले बच्चाहरूलाई अनलाइन सुरक्षित राख्नका लागि रोकथामका उपायहरू अवलम्बन गरे पनि पर्याप्त नभएको देखाएको छ ।
अध्ययनले ४५ प्रतिशत बालबालिकाहरूसँग आफ्नै डिजिटल डिभाइस भएको पाइएको छ । ३४ प्रतिशतसँग भने आफ्नै व्यक्तिगत सामाजिक सञ्जालको एकाउन्ट प्रयोग गरेको पाइएको छ । अध्ययन अनुसार २९ प्रतिशत बालबालिकाहरूले आफ्ना परिवारका सदस्यको एकाउन्ट प्रयोग गर्छन् भने धेरैले आमाको नामको एकाउन्ट प्रयोग गर्ने गरेको पाइएको छ ।
आफ्नै सामाजिक सञ्जालको एकाउन्ट हुनेमध्ये ५९ प्रतिशत बच्चाहरू १३ वर्ष मुनि भएको पाइएको छ । तर, यि बालबालिकाहरू भने परिवारको निगरानीमा नभएको पाइएको छ ।अधिकांश अभिभावक आफ्ना बालबालिकाले अनलाइन के गर्छन भन्ने विषयमा पनि सचेत नभएको समेत पाइयो । बालबालिकाहरू कतिपय अवस्थामा एडल्ट कन्टेन्ट, जुवा र यौन कन्टेन्टबाट घेरिएको पाइएको छ । जुन अत्यन्तै जोखिमपूर्ण छ ।
अभिभावकहरू यौन उत्पीडन, अनलाइन गेमिङ्ग र हिन्सात्मक सामग्रीको बारेमा जानकारीको अभाव नभएको पाइयो । जसका कारण बालबालिकाहरूले अनलाइन शोषणको सामना गरिरहेका छन् । फलस्वरुप बालबालिकाहरू डिप्रेसन र तनावको सिकार भएका छन् । यस्तो खालको घटनाको विषयमा उनीहरू रिपोर्ट समेत गर्दैनन् । बालबालिकाहरू यस्ता विषयमा आफ्ना अभिभावकलाई बताउन पनि सक्दैनन् । सामाजिक रुपमा कंलकित र दण्डित हुने डरले बालबालिकाहरूले खुलेर आफ्ना समस्या शेयर नगर्ने गरेका पाइएको छ ।
अभिभावक र बालबालिका बीच इन्टरनेट र डिजिटल उपकरणहरूको प्रयोग बीच एक सम्बन्ध रहेको पाइयो । जति अभिावकहरुले डिजिटल उपकरणहरूको प्रयोग गर्थे, त्यति नै उनका बच्चाहरूले पनि बढी प्रयोग गर्ने गरेको पाइयो । यसको विपरीत जब अभिभावकहरूले ती उपकरणहरूको कम प्रयोग गर्थे बच्चाहरूको प्रयोग पनि घट्ने गरेको अध्ययनले देखाएको छ ।
बुबाहरूमा इन्टरनेट र डिजिटल प्रविधि प्रति उच्च चेतना भएको पाइयो । तर, उनीहरू प्राय आफ्ना बालबालिकाहरूसँग कम संवाद गर्छन् । जसले गर्दा प्राय बालबालिकाहरू आफ्नी आमाको उपकरण र खाताहरू प्रयोग गर्छन् । अधिकांश आमाहरू भने अनलाइन जोखिम र सुरक्षाको विषय अनभिज्ञ भएको पाइको छ ।
२२ प्रतिशत अभिभावकले अनलाइनमा अपरिचितसँग सम्पर्क गर्ने व्यवहारलाई चिन्ताको रुपमा लिएका छन् भने २० प्रतिशतले यौन सामाग्री हेरिराख्नुलाई सबैभन्दा ठूलो जोखिमको रुपमा पहिचान गरेका । १३ प्रतिशतले अभिभावकले बालबालिकाहरूको यौन कन्टेन्ट र आफैले बनाएका कन्टेन्ट लिक हुने खतराका रुपमा लिएको अध्ययनले देखाएको छ । ८३ प्रतिशत अभिभावकले अनलाइन शोषणमा परेपछि बालबालिकाले आत्महत्याको प्रयास गर्ने लिएका छन् ।
३८ प्रतिशत अभिभावकहरूले आफ्ना बच्चाहरूको डिजिटल उपकरणको प्रयोगका लागि डिजिटल नियमहरू सेट गरेको पाइएको छ । ७८ प्रतिशतले अभिभावकहरूले बच्चाहरूका लागि स्क्रिन टाइमको सीमा सेट गरेका छन् । जसमा ६५ प्रतिशतले फोनको प्रयोगलाई प्रतिबन्धित गरेका थिए ।
८५ प्रतिशत अभिभावकहरूले आफ्ना बच्चाहरूसँग अनलाइन सुरक्षाको बारेमा कुरा नै गर्दैनन् । तीमध्ये प्राय १४ देखि १७ वर्ष उमेर समूहका छन् । ७३ प्रतिशत अभिभावकहरूले कहिल्यै कुनै पेरेन्टल टुलको प्रयोग नगरेको पाइएको छ ।
यो अध्ययनमा ९०० अभिभावक सहभागी भएका थिए । ७.२ं४ प्रतिशत महिला र २७.८ प्रतिशत पुरुष थिए । ५ प्रतिशत १८ देखि २५ वर्ष उमेर समूहका थिए । ४६ प्रतिशत २६ देखि ३५ वर्ष उमेर समूहका थिए । ४४ प्रतिशत ३६ देखि ४५ वर्ष उमेर समूहका थिए । ५ प्रतिशत ४६ वर्ष भन्दा बढी उमेर समूहका अभिभावक अध्ययनमा सहभागी भएका थिए ।
यो अध्ययन काठमाडौं र ललितपुर जिल्लामा गरिएको थियो । अध्ययनमा सहभागी भएका अभिभावकमध्ये ६७ प्रतिशत स्थायी बासिन्दा थिए भने ३३ प्रतिशत भने आप्रवासी थिए । ६५ प्रतिशत अभिभावक एकल परिवारका थिए भने ३१ प्रतिशत अभिभावक संयुक्त परिवारका थिए । ४ प्रतिशत भने एकल अभिभावक थिए । एकल अभिभावकमध्ये २९ जना एकल आमा थिए भने ११ जना एकल बुबा थिए ।
अध्ययनमा सहभागी भएका अभिभावकमध्ये ९८ प्रतिशतले स्मार्टफोनको प्रयोग गर्थे । ३४ प्रतिशतले कम्प्यूटर, १९ प्रतिशतले फिचरफोन, १४ प्रतिशतले ट्याबलेट र १ प्रतिशतले गेमिङ्ग प्रयोग गर्थे ।
९७ प्रतिशत अभिभावकले मेसेज गर्ने एप्लिकेसन प्रयोग गरेको पाइयो । यसका लागि अभिभावकहरुले ह्वाटएप, भाइबर, इमो आदी प्रयोग गरेको पाइयो । ९३ प्रतिशतले समाजिक सन्जाल एप्लिकेसन जस्तो इन्ट्राग्राम, फेसबुक आदी प्रयोग गरेको पाइयो । ७७ प्रतिशतले भिडियो एप्लिकेसन जस्तै युटुव, नेटफिलिक्स आदी प्रयोग गरेको पाइयो । ४९ प्रतिशतले बैकिङ्ग, इकमर्स एप्लिकेसन जस्तै, इसेवा, एनआईसी एसिया आदीको प्रयोग गरेको पाइयो । ३८ प्रतिशतले वेव ब्राउजर आदी गुगल, याहु, विन्गो, मोजिला, फायरवक्स आदीको प्रयोग गरेको पाइयो । २९ प्रतिशतले राइड शेयरिङ्ग र ९ प्रतिशतले अनलाइन गेमको प्रयोग गरेको पाइयो ।