काठमाडौं । ग्वार्काेमा फ्लाई ओभर पुल निर्माण सम्पन्न भएपनि पूर्वबाट आउने बसहरु कोटेश्वर आउन पाएका छैनन् । यातायात विभागले पूर्वबाट आउने बसहरुलाई कोटेश्वर, सातदोबाटो, एकान्तकुना लगायतका क्षेत्रको रुट पुन जारी नगरेपछि पूर्वबाट आउने यात्रुबाहक बसहरु कलंकीबाट सिधै नयाँ बसपार्कमै जान बाध्य भएका छन् ।
यस अघि पुल निर्माणका लागि भन्दै विभागले पुर्वबाट आउने र पुर्वतर्फ जाने बसहरुलाई कलंकी, एकान्तकुना, सातदोबाटो, ग्वार्काे, कोटेश्वर, चावहिलको रुट पर्मिट स्थगित गरेको यातायात विभागका निर्देशक श्रीकान्त यादवले जानकारी दिए । तर, पुल निर्माण भै सञ्चालनमा आएको दुई साता वितिसक्दा पनि बसहरुलाई पुन पर्मिट जारी गरिएको छैन । जसका कारण सो रुट क्षेत्र बसोबास गर्ने यात्रुहरुलाई आवतजावत गर्न कठिनाई भएको छ ।
पुल निर्माण गर्दा २ लेनबाट मात्र सवारी आवतजावत गराउनुपर्ने भएकाले धेरै जाम हुने हुँदा ग्वार्काेमा दुई लेनमा मात्र सवारी साधन चल्न दिइएको थियो । पूर्वका नाईट गाडीहरु सो रुटमा गुडदा जाम झनै बढ्ने भएकाले कलंकीबाट सिधै नयाँ बसपार्क र नयाँबसपार्कबाट सिधै कलंकी जानेगरी कलंकी सातदोबाट कोटेश्वर रुट पर्मिटलाई स्थगित गरिएको हो । विभागले तीन वर्ष अघि यस प्रकारको व्यवस्था गरेको उनले बताए ।
विभागले रुट पर्मिट पुन जारी नगर्दा लाखौँ यात्रुहरु मर्कामा परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बताए । उनका अनुसार पूर्वका अघिकांश यात्रुहरु भक्तपुर, कोटेश्वर, ग्वार्काे, पेप्सीकोला, सातदोबाटो क्षेत्रमा बसोबास गर्छन् । बसहरुले कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउन नपाई सिदै कलंकीदेखि नयाँ बसपार्क जाँदा त्यस क्षेत्रका यात्रुहरु पनि बसपार्कमा नै ओर्लिनु पर्ने हुन्छ । यस अवस्थामा उनीहरु बसपार्कबाट फेरी कोटेश्वर, ग्वार्काे, सातदोबाटो, भक्तपुर तर्फ जानुपर्ने झन्झट हुने उनले बताए । उनले भने ‘कलंकीबाट सादोबाटो ग्वार्काे आएर चावाहिल हुँदै नयाँ बसपार्कमा जान पाएको भए ति रुटका यात्रुहरुलाई सहज हुने थियो । रुट पर्मिट पुन जारी गरिदिन लागि महासंघले गत असार १३ गते विभागलाई पत्र पठाएको थियो ।
यता, विभागका निर्देशक यादवले भने अब छिटै पुर्वका बसलाई सो रुटमा सञ्चालनका लागि पर्मिट जारी गरिदिने जानकारी दिए । उनले भने, ‘पुन निर्माणका लागि रोक लगाइएको थियो । पुल बनिसकेको छ । अब हामि छिटै सबै निकायलाई पत्र पठाएर सो रुटमा पुर्वका गाडीहरु गुडन पाउने व्यवस्था गर्दछौँ ।’