शीर्षकहरू

नियम मिचेर अभिकर्तालाई सुटुसुटु विदेश सयर गराउँदै बीमा कम्पनी

नियम मिचेर अभिकर्तालाई सुटुसुटु विदेश सयर गराउँदै बीमा कम्पनी

काठमाडौं । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई सुटुसुटु वैदेशिक भ्रमणमा पठाउन थालेका छन् । नेपाल बीमा प्राधिकरणको निर्देशनलाई उल्लंघन गर्दै कम्पनीहरूले अभिकर्ताहरुलाई विदेशमा भ्रमणमा पठाउन थालेका हुन् । 

नेपाल बीमा प्राधिकरणले २०७५ साल पुस १० गते जीवन बीमा कम्पनीहरूलाई र ११ गते निर्जीवन बीमा कम्पनीहरूलाई परिपत्र गर्दै अभिकर्ताहरूको विदेश भ्रमण रोक्न निर्देशन दिएको हो । प्राधिकरणले अभिकर्ताहरूको तालिम तथा वैदेशिक भ्रमणका के कस्ता कार्यक्रम सञ्चालन गरिएका छन् त्यसको विवरण उपलब्ध गराउन समेत कम्पनीहरूलाई निर्देशन दिएको थियो । प्राधिकरणका तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईले अभिकर्ताहरूको तालिमका नाममा ठूलो रकम विदेशिएको र कम्पनीको संस्थागत सुशासनमै प्रश्न समेत उठेको भन्दै विदेश भ्रमणलाई रोकेका थिए । 

विदेश भ्रमण गराउने भन्दै कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरेपछि त्यतिबेला विदेश भ्रमणलाई रोक लगाएको प्राधिकरणका तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । ‘त्यतिबेला कम्पनीहरूले व्यवसाय ल्याउनका लागि अभिकर्ताहरुलाई विभिन्न देश घुमाउन थाले । यो विकृतिको रुपमा नै फैलिन थाल्यो । त्यसैले त्यतिबेला रोकेको हो,’ उनले भने । 
अभिकर्तालाई उत्प्रेरित गर्ने विभिन्न तरिका छन् । नेपाल भित्रै पनि घुमाउन सकिन्छ । ‘नेपालमा पनि घुम्ने थुप्रै ठाउँहरू छन् । नेपालमा भित्र घुमाउन आन्तरिक पर्यटन पनि प्रवर्द्धन हुन्छ नि,’ उनले भने । 

प्राधिकरणले अभिकर्तालाई विदेश भ्रमण गराउन रोक लगाएपनि कम्पनीहरूले भने विभिन्न उपाय अपनाएर अभिकर्ताहरुलाई विदेश घुमाउन थालेका छन् । गत वर्ष सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तालाई थाइल्याण्ड, मलेसिया र सिंगापुर भ्रमणमा लगेको एक अभिकर्ताले बताए । यस्तै, प्रभु लाइफ, नेपाल लाइफ, आइएमई लाइफ र सन लाइफ इन्स्योरेन्स कम्पनीले पनि अभिकर्तालाई थाइल्याण्ड लगेका थिए । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले भने दुबई लगेको थियो । नेशनल लाइफले भने कलकता लगेको थियो । 

बीमा नियमावली अनुसार बीमा कम्पनीहरूले अभिकर्तालाई कमिशन र इन्सेन्टिभ वितरण गर्न सक्ने व्यवस्था छ । नियमावली अनुसार अभिकर्ताले बीमा पोलिसीको अवधिको आधारमा पहिलो र दोस्रो वर्ष १० देखि २५ प्रतिशतसम्म कमिशन पाउँछन्  । तेस्रो वर्ष देखि भने ८ औ वर्षसम्म ५ प्रतिशत कमिशन पाउँछन् । 

यस्तै, कम्पनीहरुले इन्सेन्टिभको रुपमा नगद, समान र विदेश भ्रमण लैजाने गरेका छन् । विदेशमा भ्रमण लैजानका लागि कम्पनीहरुले अभिकर्ताहरुलाई विजनेशको लक्ष्य दिएका हुन्छन् । लक्ष्य प्राप्त गर्ने अभिकर्ताहरुलाई विश्वका विभिन्न मुलुकमा भ्रमणमा लैजाने अभ्यास छ । 

प्राधिकरणले रोक लगाए पनि कम्पनीहरूले भने घुमाउरो बाटो अपनाएर अभिकर्तालाई विदेश भ्रमण लैजाने गरेको एक अभिकर्ताले बताए । उनका अनुसार कम्पनीहरूले विदेश भ्रमणको रकम अभिकर्ताको बैंक खातामा नगद जम्मा गरिदिन्छन् । अभिकर्ताले बीमा कम्पनीले तोकेको ट्राभल कम्पनीको खातामा रकम जम्मा गर्छन् । ‘झट्ट हेर्दा अभिकर्ताले आफनै व्यक्तिगत रकम खर्च गरी भ्रमण गरेको जस्तो देखिन्छ । तर कम्पनीले घुमाउरो बाटोबाट अभिकर्तालाई विदेश भ्रमण लगेको हुन्छ,’ उनले भने । यस्तो खालको भ्रमणमा लैजादा कम्पनीहरुले कुनै पनि प्रचार प्रचार गर्दैनन् । व्यानर, फोटो, भिडियो सार्वजनिक गर्दैनन् । यसरी भ्रमण जाँदा अभिकर्ता ठगिने गरेको उनले गुनासो गरे । ‘अभिकर्ताले पाउने कमिशन र इन्सेन्टिभ फरक फरक हो । कम्पनीहरुले भने अहिले अभिकर्ताको कमिसन र इन्सेन्टिभ एकै पटक अभिकर्ताको खातामा जम्मा गर्छन् । त्यो रकम भ्रमण लागि हो भन्दै ट्राभलमा भुक्तानी गर्न भन्छन्,’ उनले भने  । तर, अभिकर्ताहरुलाई यस विषयमा जानकारी नै छैन । विदेश भ्रमणका रुपमा अभिकर्ताहरु आफु ठगिएको थाहा नपाएको उनले बताए ।

आईएमई लाइफ इन्स्योरेन्सका सुचना अधिकारी एवम अन्डरराइटिङ्ग प्रमुख सुदिप रानाले भने आईएमई लाइफले अभिकर्तालाई वैदेशिक भ्रमणमा नलगेको बताए । कम्पनीले तालिमको लागि विदेश लगेको भने उनले स्वीकार गरे । ‘प्राधिकरणले रोक लगाएपछि हामीले भ्रमणमा भने पठाएका छैनौ । तालिमको लागि भने पठाउने गरेका छौ । हामीले प्राधिकरणसँग अनुमति लिएर नै तालिममा पठाउने गरेका छौ,’ उनले भने । 

कतिपय कम्पनीले तालिम र अन्य कार्यक्रम भन्दै पनि अभिकर्तालाई विदेशमा भ्रमणमा लगेको अर्का एक अभिकर्ताले बताए । प्राधिकरणले तालिम र कार्यक्रमलाई रोक नलगाएका कारण भ्रमणलाई तालिम भनेर पनि विदेश लैजाने गरेको उनले दाबी गरे । 

विदेश भ्रमणमा मुलुकको ठूलो रकम बाहिरिने तर्क सहित प्राधिकरणले लगाएको रोक जायज भएको आईएमई लाइफ इन्स्योरेन्सका सुचना अधिकारी रानाले बताए । तर, नेपालको बीमा बजारमा अभिकर्तालाई विदेश भ्रमणमा लैजानु सँस्कृति नै बनी सकेको उनले बताए । ‘प्राधिकरणको तर्क ठिक पनि हो । तर, नेपालमा कम्पनीहरुले बर्षो देखि यस्तो खालको अभ्यास गर्दै आएका छन् । अभिकर्तालाई यो प्रतिष्ठानको विषय पनि बनेको छ,’ उनले भने । विदेश भ्रमणमा गएको भनेपछि समाजमा आफनो पेशाको प्रतिष्ठा बढेको अभिकर्ताहरुले महसुश गर्ने गरेको उनले बताए । त्यसैले अभिकर्ताको दृष्टिकोणमा यसलाई खराब पनि भन्न नसकिने उनको तर्क थियो ।