शीर्षकहरू

श्रम मन्त्रीले सरकारी गाडी पार्टी अध्यक्षको छोरीलाई उपहार दिए, गाडी खोज्न सचिवले प्रहरी गुहारे

श्रम मन्त्रीले सरकारी गाडी पार्टी अध्यक्षको छोरीलाई उपहार दिए, गाडी खोज्न सचिवले प्रहरी गुहारे

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले भने ड्राइभरले गाडी मन्त्रालयमा आफै लिएर आएको बताए । गाडी कहाँ फेला प¥यो, कसले चोरेको रहेछ, कारवाही के हुन्छ भन्ने प्रश्नमा उनले भने ‘गाडी आयो, आएपछि हामीले यस विषयमा थप सोधखोज गरेनौ । गाडी पाई सकेपछि थप सोधखोज गर्नु नै परेन नी,’ उनले भने ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले सरकारी गाडी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको छोरी मिनाक्षी ठाकुर (झा) लाई उपहार दिएका छन् । अध्यक्ष ठाकुरले लगातार दोस्रो पटक पनि श्रम मन्त्री बन्ने अवसर दिए बापत मन्त्री भण्डारीले उनकी छोरीलाई श्रम मन्त्रालयको गाडी नै उपहार दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार यस पटक सर्वोन्द्रनाथ शुक्लाको पालो मिचेर अध्यक्ष ठाकुरले भण्डारीलाई मन्त्री बनाई दिएका थिए । 

मन्त्री बन्ने अवसर दिए बापत मन्त्री भण्डारीले श्रम मन्त्रालयको महिन्द्रा स्कोर्पियो (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको गाडी अध्यक्षकी छोरी मिनाक्षीलाई उपहार टक्राएका हुन् ।  निजी प्रयोजनका लागि मन्त्री भण्डारीले उपहार दिएको मन्त्रालय स्रोतले बतायो । भण्डारी यस अघि मन्त्री हुँदा पार्टी अध्यक्ष ठाकुरको छोरी मिनाक्षीलाई वैदेशिक रोजगार बोर्डको सञ्चालक समितिको सदस्य समेत नियुक्त गरेका थिए । 

त्यतिमात्रै हैन मन्त्री भण्डारीले पार्टी अध्यक्ष ठाकुरका भान्जा राकेश झालाई निजी सचिव नियुक्त गरेका छन् । ठाकुरको नाति देखि पिएको छोरालाई आईटी इन्जिनियर नियुक्त गरेको स्रोतको दाबी छ । बोर्डको तलब भत्ता खाने गरी एक जना अधिवक्तालाई समेत नियुक्ती गरिएको स्रोतले बतायो । भण्डारी यस अघि श्रममन्त्री हुँदा पार्टी अध्यक्ष ठाकुरको सवारी चालकलाई पनि बोर्डबाट नै तलब खाने व्यवस्था गरिएको मन्त्रालय स्रोतले बतायो ।

मन्त्री भण्डारीले अध्यक्ष ठाकुरकी छोरीलाई यस अघि दुबई र जापान पनि भ्रमण गराई सकेका छन् । दुबई रोजगार मेलामा सहभागी हुन भन्दै भण्डारीले उनलाई दुबई लगेका थिए । तर, उनी कार्यक्रममा सहभागी नै नभएको मेलाका एक सहभागीले बताए । 

सचिव र मन्त्रीको बीचको तनाब बढ्दै

अहिले श्रममन्त्री शरद सिंह भण्डारी र श्रम सचिव डा.कृष्णहरि पुष्कर बीचको सम्बन्ध चिसिएको छ । मन्त्री र सचिव बीचको सम्बन्धमा आएको दरारका कारण श्रम मन्त्रीले उपहार दिएको गाडी खोज्न सचिव पुष्करले गृह मन्त्रालयलाई पत्र पठाएका थिए । 

सचिव पुष्करकै निर्देशनमा प्रशासन शाखाले गत असार १५ गते गृह मन्त्रालयलाई पत्र लेख्दै मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी हराएको निवेदन दिएका थिए । मन्त्रालयले गाडी केही दिन अघि देखि हराएको भन्दै नेपाल सरकारको सचिवस्तरी निर्णय अनुसार सावरी साधन जहाँ जस्तो जुन अवस्थामा छ खोज तलास गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । साथै प्रचलित कानून बमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी, अनुसन्धान गरी कारवाही अगाडि बढाउन भनिएको छ । 

तर, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले मन्त्रालयले १५ गते गाडी हरायो भन्दै पत्र पठाएको भए पनि फेरी अर्को पत्र पठाउँदै गाडी फेला परेको जानकारी दिएको बताए । 

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले भने ड्राइभरले गाडी मन्त्रालयमा आफै लिएर आएको बताए । गाडी कहाँ फेला प¥यो, कसले चोरेको रहेछ, कारवाही के हुन्छ भन्ने प्रश्नमा उनले भने ‘गाडी आयो, आएपछि हामीले यस विषयमा थप सोधखोज गरेनौ । गाडी पाई सकेपछि थप सोधखोज गर्नु नै परेन नी,’ उनले भने ।

सुरक्षामा प्रश्न : श्रम मन्त्रालयको गाडी सिंहदरबारबाट हरायो