काठमाडौं । गत असार १५ गतेदेखि बढ्न थालेको शेयर बजार छैटौं कारोबारदिनसम्म लगातार बढेको छ । ६ कारोबार दिनमा नेप्से सूचक ११० अंकले उकालो लागेको हो । यो साताको पहिलो कारोबार दिन नेप्से सूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा बन्द भएको छ ।
नेप्से सूचकसँगै कारोबार रकम पनि क्रमिकरुपमा वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति निमार्णका लागि छलफलको क्रमलाई तिब्रता दिइरहेको बेला शेयर बजार सकारात्मक लयमा देखिनुले लगानीकर्ता मौद्रिक नीतिप्रति आशावादी रहेको स्ष्पट हुन्छ ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार मात्रै आगामी मौद्रिक नीतिका बारेमा सरोकारवालसँग छलफल गरेको थियो । साथै राष्ट्र बैंकले सरोकारवालाहरुको सुझाव संकलनको क्रमलाई पनि जारी राखेको छ । आइतबार पनि नेपाल आर्थिक पत्रकार संघ (सेजन) को आयोजनामा आगामी मौद्रिक नीतिबारे अन्तरक्रिया आयोजना गरिएको थियो ।
आइतबारको बजारमा गत बिहबारको तुलनामा कारोबार रकम भने घटेको छ । बिहीबार ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आइतबार ९ अर्ब ५० करोड रुपैयाँबराबरमा खरिद बिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढेको छ। त्यसतै, वित्त उपसमूहको परिसूचक २.४९ प्रतिशतले बढेको हो । बैंकिङ, लगानी, उत्पादन तथा प्रर्शोधन, व्यपार समूहको सूचक सकारात्मक छ । यस दिन विकास बैंक हाईड्रोपावर र जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत भन्दा बढीले घटेको हो।
यस दिन नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, १२ प्रतिशत गुडवल फाइन्स डिवेञ्चरको मूल्य ८.८७ प्रतिशतले, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.५८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन यस दिन नेपाल रि इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४९ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर ३७ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्सको ३४ करोड २४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।
आर्थिकन्यूज