शीर्षकहरू

वीरगञ्ज भन्सार नाकामा संगठित अवैध असुली धन्दा मौलाउँदै

वीरगञ्ज भन्सार नाकामा संगठित अवैध असुली धन्दा मौलाउँदै

वीरगञ्ज । भारत–नेपाल सीमा नाका वीरगञ्ज भन्सार हुँदै नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनहरूबाट दैनिक लाखौं रुपैयाँको अवैध असुली भइरहेको तथ्य फेला परेको छ । भन्सार कार्यालयका कर्मचारी र स्थानीय विचौलियाको मिलेमतोमा चलिरहेको गोरखधन्दाले भारतबाट नेपाल आउने पर्यटक र गाडी चालकहरूलाई गम्भीर रूपमा हैरानी पार्दै आएको छ ।

अर्को तर्फ सिमावर्ती वीरगन्ज र आसपासमा रहेको भारतीय गाडी धनीले महिनवारी नै दिएर घरमै इन्टीकागज पाउने गरेका छन । प्रत्येक भारतीय गाडीमा तिन देखि पाँच हजार समेतको महिना भन्सारका कर्मचारीले लिने गरेका बताइन्छ ।भारतीय गाडी चालकहरूले भन्सारमा सक्कली कागजात नभएमा “कमिसन“ बुझाएर मात्रै भन्सार पास हुने अवस्था बनाइएको छ ।

यता इनर्वा र छपकैयाका युवाहरू मिलेर बनेको यो गिरोहले ब्लुबुक नभएका गाडीहरूलाई १०–२० हजार रुपैयाँ असुली गरेर भन्सार पास गराइदिने गरेको स्रोतहरूको दाबी छ । यस्ता गाडीहरूका लागि नक्कली कागजात र फर्जी गाडीधनी प्रमाण पत्रसमेत बनाइने गरेको बताइएको छ ।

इनर्वा प्रहरी चौकीमा कार्यरत केही प्रहरीहरूले समेत यी विचौलियाहरूसँग मिलेमतो गरेर गाडी चालकलाई सुझाव दिने गरेको प्रमाणहरू बाहिर आएका छन्। भन्सार परिसरमै बिहान ८ बजेदेखि राति ११ बजेसम्म सक्रिय रहने गिरोहले दैनिक सयौं गाडीबाट अवैध रकम असुली गर्दै आएको छ।

विचौलिया अनिल यादवसँग भारतीय नागरिकता रहेको दाबी गरिएको छ, र उनले नेपालमा समेत नागरिकता लिएको हुनसक्ने शंका उठाइएको छ। भारतमा अपराध गरेर नेपाल लुकेर बस्ने गिरोहका सदस्यहरू पनि यिनैको सहयोगमा नेपाल प्रवेश गर्ने गरेका छन्। वीरगञ्ज नआइकनै पोखरा, काठमाडौं, सौराहा जस्ता क्षेत्रमा पुगेका गाडीहरूको भन्सार वीरगञ्जबाटै नक्कली कागजातमा काटिने गरेको स्रोतको भनाइ छ।

होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले भारतबाट नेपाल आउने पर्यटकले सीमामा दुःख पाएको गुनासो बारम्बार सुनिएको बताएका छन्। यसरी सीमामा भोगिएको हैरानीले नेपालको पर्यटनमा प्रतिकूल प्रभाव पार्ने सम्भावना रहेको उनले बताए।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले केही व्यक्तिहरू नक्कली कागजात बनाउने गिरोहमा संलग्न रहेको सूचना आफूले पाएको स्वीकार गरे। अनिल यादवलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको र नितेश यादव तथा विक्रम यादवमाथि छानबिन भइरहेको बताए।

जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले यस्ता कार्यमा संलग्न व्यक्तिमाथि प्रमाणसहित कारबाही गरिने बताए। प्रहरी संलग्नता देखिएमा उनीहरूमाथि पनि उस्तै कारबाही हुने उनको भनाइ छ।

भन्सार प्रशासकका अनुसार, वीरगञ्ज नाका हुँदै दैनिक ३–४ हजार गाडी नेपाल प्रवेश गर्छन्, जसमा ८० प्रतिशत गाडीमा कागजातको समस्या देखिन्छ। विचौलिया समूहले एक गाडीबाट कम्तीमा ३ हजारदेखि १० हजार रुपैयाँ असुली गर्छन्। संलग्न व्यक्तिहरूका अनुसार, संकलित रकम भन्सारकर्मी, प्रहरी र अन्य सरोकारवालाबीच बाँडफाँट हुन्छ।

भन्सारको सुरक्षामै खटिएका निकायकै मिलेमतोमा चलिरहेको यस्तो संगठित अवैध असुली धन्दाले न केवल कानुनी व्यवस्था कमजोर बनाएको छ, तर देशको पर्यटन र अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पारिरहेको छ। यस्तो अव्यवस्था अन्त्य गर्न कडाइका साथ छानबिन र कारबाही हुनुपर्ने आवाज चुलिएको छ।a