शीर्षकहरू

तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर ४.८ प्रतिशत, सबै आर्थिक क्षेत्र धनात्मक

तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर ४.८ प्रतिशत, सबै आर्थिक क्षेत्र धनात्मक

काठमाडौ । चालु आर्थिक वर्ष (आव) २०८१-८२ को तेस्रो त्रैमासिकमा मुलुकको अर्थतन्त्र ४.८ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक राष्ट्रिय लेखा अनुमान अनुसार अघिल्लो आवको यसै अवधिकोे तुलनामा कुल गार्हस्थ्य उत्पादनमा (आधारभूत मूल्यमा) उक्त वृद्धि भएको अनुमान गरिएको हो । 

तेस्रो त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक हुने अनुमान छ । यो अवधिमा निर्माण क्षेत्रले गति लिएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भएको यो वृद्धिमा विद्युत् उत्पादन तथा वितरण, निर्माण, खानी तथा खनिज उत्खनन र वित्तीय तथा बीमा क्षेत्रको प्रमुख योगदान रहेको छ ।

त्रैमासिक वृद्धिदरको आधारमा हेर्दा कुल १८ ओटै आर्थिक क्षेत्रमा धनात्मक वृद्धि भएको अनुमान गरिएको छ । जसमा विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा सबैभन्दा बढी १२.५ प्रतिशतको वृद्धि भएको छ। त्यसपछि निर्माण क्षेत्रमा (६.९ प्रतिशत), खानी तथा खनिज उत्खनन् (६.७ प्रतिशत), वित्तीय तथा बीमा (६.७ प्रतिशत), सूचना तथा सञ्चार (६.६ प्रतिशत) र यातायात तथा भण्डारण (६.३ प्रतिशत)मा वृद्धि भएको प्रक्षेपण गरिएको छ ।

null

अर्थतन्त्रमा सर्वाधिक योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर ३.६ प्रतिशत भएको अनुमान छ । हिउँदे बाली, तरकारी र केही नगदे बालीको उत्पादनमा भएको वृद्धिले यसमा सकारात्मक प्रभाव पारेको बताइएको छ । त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्र पनि ५.६ प्रतिशतले वृद्धि भएको अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन र आयातमा सुधारले वृद्धि भएको हुनसक्ने बताइएको छ। 

मौसमी प्रभाव समायोजन गरिएको तथ्यांक अनुसार भने चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र भएको अनुमान छ । 

१८ क्षेत्रमध्ये १५ क्षेत्रमा वृद्धि भए तापनि ३ क्षेत्रमा ऋणात्मक वृद्धि देखिएको अनुमान छ । विशेषगरी, यातायात तथा भण्डारण क्षेत्रमा ३.३ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रमा १.६ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा ०.८ प्रतिशतको ऋणात्मक वृद्धि रहेको अनुमान छ ।

null