शीर्षकहरू

१५.५ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा कति भित्रियो ?

१५.५ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा कति भित्रियो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा नेपाल भित्रने रेमिट्यान्स १५.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आवको जेठ मसान्तसम्म १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आवको सोही अवधिमा १३ खर्ब २७ अर्ब ५४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । 

गते वर्षको सोही अवधिमा रेमिट्यान्स १७.२ प्रतिशतले बढेको थियो । २०८२ जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब २८ अर्ब ९१ करोड
रहेको रेमिट्यान्स भित्रिएको थियो ।

यस अवधिमा अमेरिकी डलरमा भित्रने रेमिट्यान्स १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत वर्ष यस्तो १५.२ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । गत वर्ष वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।

पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ०८ हजार ०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।