शीर्षकहरू

विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड डलर, १७.६ महिनाको आयात धान्ने

विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड डलर, १७.६ महिनाको आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ११ महिनामा कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २२.२ प्रतिशतले बढेको छ । एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.६ महिनाको वस्तु आयात तथा १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाई छ ।

२०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २०८२ जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा ५३.२ प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ९२ करोड कायम भएको छ । २०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०८१-८२ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।