काठमाडौं । २०८२ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) घटेको छ । जेठ महिनामा महँगी २.७२ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो ।
यस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको थियो ।
२०८२ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.०६ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.४३ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८२ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।
आर्थिकन्यूज