काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठ महिनासम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा थप ४ खर्ब ७ अर्ब ६२ करोड कर्जा प्रवाह गरेका छन् । गएको ११ महिनामा बैंकहरुले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा ८.० प्रतिशतले बढेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ ।
२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैंकहरूको ४.७ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको छ ।
२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.० प्रतिशत रहेको छ । २०८१ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२.० प्रतिशत र ६८.५ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०८१-८२ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ४२.८ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ६२.२ प्रतिशतले, हायर पर्चेज कर्जा ५.५ प्रतिशत, नगद प्रवाह कर्जा ०.६ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.० प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १३.२ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५ खर्ब १७ अर्ब ६० करोड (८.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५ खर्ब १४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.० प्रतिशतले बढेको छ।
२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको थियो ।
२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८१ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो।
आर्थिकन्यूज