शीर्षकहरू

वैदेशिक अध्ययनमा जानेले एक खर्ब २४ अर्ब खर्चिए

वैदेशिक अध्ययनमा जानेले एक खर्ब २४ अर्ब खर्चिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको वैदेशिक अध्ययनमा जानेले एक खर्ब २४ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोही अवधिमा भने वैदेशिक अध्ययनमा जानेले एक खर्ब १७ अर्ब १ करोड रुपैयाँ खर्च गरेका थिए । 

यस्तै, विदेश भ्रमणमा जाने नेपालीले समीक्षा अवधिमा दुई खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १६.५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विदेश भ्रमणमा जानेले एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ खर्च गरेका छन् ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ६.९ प्रतिशतले वृद्धि भई ८२ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७६ अर्ब ८८ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय ९७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५६ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको थियो ।