काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्मको अवधिमा कुल २१३ खर्ब ४३ अर्ब ५० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न नसकेको उक्त रकम राष्ट्र बैंकले पटक पटक गरेर प्रशोचन गरेको हो।
११ महिनाको अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत २७ खर्ब ८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत १८५ खर्ब ५८ अर्ब ७० करोड खिचेको हो । निक्षेप संकलन बोलकबोल तथा स्थायी निक्षेप सुविधामार्फत गरी कुल २१३ खर्ब ४३ अर्ब ५० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक-पटक गरी खुद १९० खर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो। साथै यस अवधिमा २ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ५ अर्ब १ करोड खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ३३ करोड खुद खरिद गरी ७ खर्ब ८ अर्ब ८७ करोड तरलता प्रवाह गरेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ४६ करोड बिक्री गरी ४ खर्ब ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ६४ करोड बिक्री गरी ४ खर्ब ८४ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।
आर्थिक वर्ष २०८१-८२ को एघार महिनामा वाणिज्य बैंकहरूको १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब ५० अर्ब ३३ करोड गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोडको अन्तर–बैंक कारोबार भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ३७ खर्ब १ अर्ब ४३ करोड र अन्य वित्तीय संस्थाहरूको ३ खर्ब ५९ अर्ब ५५ करोड गरी कुल ४० खर्ब ६० अर्ब ९८ करोडको अन्तर बैंक कारोबार भएको थियो।
आर्थिकन्यूज