काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको अन्तर बैंक कारोबार कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँ भएको छ । बाणिज्य बैंकहरुको १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को एक खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ३७ खर्ब १ अर्ब ४३ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ३ खर्ब ५९ अर्ब ५५ करोड गरी कुल ४० खर्ब ६० अर्ब ९८ करोडको अन्तर बैंक कारोबार भएको थियो ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८१ जेठमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९९ प्रतिशत रहेकोमा २०८२ जेठमा २.९४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ जेठमा २.९५ प्रतिशत रहेकोमा २०८२ जेठमा २.९९ प्रतिशत रहेको छ ।
२०८२ जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.०९ प्रतिशत, विकास बैंकहरूको ८.२९ प्रतिशत र वित्त कम्पनीहरूको ९.०२ प्रतिशत रहेको छ । २०८१ जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.१७ प्रतिशत, विकास बैंकहरूको ९.९६ प्रतिशत र वित्त कम्पनीहरूको ११.४६ प्रतिशत रहेको थियो ।
२०८२ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.२९ प्रतिशत, विकास बैंकहरूको ५.०२ प्रतिशत र वित्त कम्पनीहरूको ६.०९ प्रतिशत रहेको छ । २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरूको ७.०७ प्रतिशत र वित्त कम्पनीहरूको ८.२८ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८२ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत, विकास बैंकहरूको ९.४० प्रतिशत र वित्त कम्पनीहरूको १०.२२ प्रतिशत रहेको छ ।
२०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १०.१५ प्रतिशत, विकास बैंकहरूको ११.६३ प्रतिशत र वित्त कम्पनीहरूको १२.८५ प्रतिशत रहेको थियो ।
आर्थिकन्यूज