शीर्षकहरू

शेयर धितो कर्जा १ खर्ब २८ अर्ब, ११ महिनामा साढे ३८ अर्ब थपियो, ठूलो कर्जा लिनेहरु ५८ प्रतिशतले बढे

शेयर धितो कर्जा १ खर्ब २८ अर्ब, ११ महिनामा साढे ३८ अर्ब थपियो, ठूलो कर्जा लिनेहरु ५८ प्रतिशतले बढे

काठमाडौं । शेयर बजारमा चमत्कारिक सुधार नदेखिएको भएपनि चालु आर्थिक वर्षमा व्यक्तिका साथै संस्थागत लगानीकर्ताहरुले शेयर बजारमा ठूलो मात्रामा लगानी बढाएको तथ्यांकहरुले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट पछिल्लो समयमा प्रवाह भएको शेयर धितो कर्जाले नै यसलाई पुष्टि गर्छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही लचिलो नीति लिएको थियो। जसका कारण शेयर कर्जा बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकले चालु मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको शेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको थियो । साथै राष्ट्र बैंकले शेयर धितोको जोखिम भार घटाएपछि यस्तो प्रकृतिको कर्जा लिन लगानीकर्तालाई प्रोत्साहन मिलेको हो । शेयर धितो कर्जामा बढोत्तरी आएपनि त्यसको प्रभाव भने शेयर बजारमा खासै देखिएको छैन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा १ खर्ब २८ अर्ब ६७ करोड बढी कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गरेर्को कर्जा करिब ४२.८ प्रतिशतले बढेको छ । यसै अवधिमा ठूला शेयर धितो कर्जा लिनेहरु अर्थात एक करोड भन्दा माथिको कर्जा लिनेहरु साढे ५८ प्रतिशतले बढेका छन् ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका हुन् । जुन गत असारको तुलनामा ४२.८ प्रतिशतले धेरै हो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले यो शिर्षकमा ९० अर्ब ९ करोड ३२ लाख कर्जा प्रवाह गरेका थिए । केन्द्रीय बैंकका अनुसार पछिल्लो ११ महिनाको अवधिमा मात्रै बैंक–वित्तीय संस्थाहरुले ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह गरेका छन् । 

मार्जिन प्रकृतिको कर्जामा ठूलो ऋण लिने सबैभन्दा बढी बढेका छन् । केन्द्रीय बैंकको विवरण अनुसार चालु आवको ११ महिनामा १ करोड भन्दा बढी ऋण लिने ५८.०१ प्रतिशतले बढेका छन् । चालु आवको जेठसम्ममा १ करोड रुपैयाँभन्दा माथिको ऋण ८८ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ । त्यसपछि सबैभन्दा बढी ऋण लिनेमा २५ लाखदेखि ५० लाखसम्म ऋण लिनेहरु छन्। यो आकारको शेयर धितो कर्जा पनि १७ प्रतिशतले बढेको छ । जेठसम्म यो रेन्जमा १६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै ५० लाख देखि १ करोडसम्मको ऋण लिनेहरुले २३.१ प्रतिशतले बढेका छन्। यो शिर्षकमा १५ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । २५ लाख भन्दा कम कर्जा लिनेहरु १०.४ प्रतिशतले मात्र बढेका छन् । यो शिर्षकमा ८ अर्ब ७ करोड ५१ लाख मात्र कर्जा प्रवाह भएको छ । 

nullसाना कर्जा लिनेहरु घट्ने तथा ठूला कर्जा लिनेहरु बढेकाले शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाएको अनुमान गर्न सकिन्छ । अहिले बैंकहरुको ठूलो रकम शेयर बजार आउने क्रम जारी रहेकाले बजारमा सुधार आउने अनुमान भइरहेको छ । पछिल्लो समयमा मौद्रिक नीति कुरेर बसीरहेका लगानीकर्ता पर्ख र हेरेको अवस्थामा छन् । बजारमैत्री मौद्रिक नीतिको अपेक्षाले गएको साता यता शेयर बजारमा चहलपहल भने बढ्दै गएको छ । 

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । बैंक ब्याजदर निरन्तर घट्दै आइरहेको छ । अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । यसैगरी, बैंकहरुले निक्षेपको ब्याजदर पनि भारीमात्रामा घटाएकाले पनि लागत कम हुँदै गएको छ । यसले पनि कर्जाको ब्याजदर थप तल झार्न सहयोग गरेको देखिन्छ । शेयर बजारको विस्तारको गति हेर्दा जुन रुपमा शेयर कर्जा बढेको सो अनुपातमा बजारमा त्यसको प्रभाव कम देखिएकाले यो शिर्षकको कर्जा अन्यत्रै प्रयोग भएको आँकलन गरिएको छ ।