शीर्षकहरू

वित्तीय प्रणालीमा पैसाको बाढी, तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई सकश

वित्तीय प्रणालीमा पैसाको बाढी, तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई सकश

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिना असार लागेपछि बैंकहरुले नयाँ कर्जा लगानी गर्न छाडेका छन भने बैंकमा निक्षेप थपिने क्रम निरन्तर जारी छ । असार महिनामा केही व्यापारिक ऋणहरु र प्रतितपत्रको काममात्रै धेरै हुने गर्छ । नयाँ कर्जाको माग नभएपछि बैंकहरुमा थुप्रिएको लगानी योग्य रकम व्यवस्थापन गर्न राष्ट्र बैंकलाई झनै सकश परेको छ । जसले गर्दा असार लागेपछि केन्द्रीय बैंकले लामो अवधिका निक्षेप संकलन उपकरण जारी गर्न थालेको छ । 

कर्जा प्रवाह ठप्पप्राय भए पनि बैंकहरुमा निक्षेपको आकार भने झनै बढेको छ। आर्थिक वर्षको अन्त्यतिर सरकारी कोषबाट हुने अनिवार्य दायित्वहरुको भुक्तानी हुने तथा विकास निर्माणका कामहरु पनि हुने भएकोले यो समयमा निक्षेप बढ्ने गर्छ । अर्कातिर रेमिट्यान्स आप्रवाहमा आएको सुधारले पनि निक्षेप बढ्ने क्रम जारी रहेको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत जेठमा मात्र १ खर्ब ७६ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । पछिल्लो एघार महिनामा (साउनदेखि जेठसम्म) रेमिट्यान्समार्फत १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५.५ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको जेठसम्ममा १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो। बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ ।

असार महिनामा असुलीमा आएको सुधारले पनि अधिक तरलता थप जटिल बनेको बैंकरहरुको भनाई छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकमा पैसा थुप्रिने क्रममा पनि उत्तिकै बढोत्तरी भएको छ । केन्द्रीय बैंकले ब्याजदर अस्वाभाविक उतारचढाव हुन नदिन वित्तीय क्षेत्रको तरलताका लागि ब्याज दिएर खिच्छ भने तरलता कसिलो हुँदा ६.५ प्रतिशत ब्याज लिई बैंक तथा वित्तीय संस्थालाई तरलता दिन्छ ।

आव अन्तिम महिनामा समान्यतया वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था हुने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन । आगामी आवको सरकारी खर्च तथा मौद्रिक नीतिको कार्यदिशाका आधारमा मात्रै कर्जा विस्तारले गति लिने अनुमान गरिएको छ । 

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ७१ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५५ खर्ब ८२ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.९९ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ८ खर्ब ५४ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ।

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापनमा नेपाल राष्ट्र बैंकलाई निकै सकश परेको छ । प्रणालीको अधिक तरलता प्रशोचन गर्न केन्द्रिय बैंकले पछिल्लो समयमा अवधि बढाएर नै निक्षेप संकलन उपकरण जारी गर्न थालेको छ । सामान्यतया १४ दिने तथा २१ दिने निक्षेप संकलन उपकरण जारी गर्दै आएको केन्द्रिय बैंकले पछिल्लो समयमा ३५ दिने तथा ४२ दिने निक्षेप संकलन उपकरण जारी गर्दै आएकोमा ६३ दिने निक्षेप संकलन उपकरण जारी गर्न थालेको छ । यसबाट पनि राष्ट्र बैंक तत्काल कर्जा विस्तार हुनेमा विस्वस्थ हुन नसकेको स्पष्ट हुन्छ ।

नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार २५ गते ४० अर्ब रुपैयाँ उठाउने भएको हो । राष्ट्र बैंकले ६३ दिन अवधीका लागि उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ २५ गते फिर्ता पाउनेछन् ।

‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।

बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।