शीर्षकहरू

बेइमान बीमा कम्पनी, अधिकत्तम बोनस देखाएर झुक्याउँछन् बीमितलाई

बेइमान बीमा कम्पनी, अधिकत्तम बोनस देखाएर झुक्याउँछन् बीमितलाई

काठमाडौं । जीवन बीमा कम्पनीहरूले बोनसमा पनि बीमितहरुलाई झुक्याउने गरेको पाइएको छ । कम्पनी र बीमा अभिकर्ताहरुले कम्पनीले वितरण गर्ने अधिकत्तम बोनस देखाएर न्यूनतम् बोनस पाउने बीमा पोलिसी विक्री गर्दै आएका छन् । 

बीमा कम्पनीले आर्जन गरेको नाफाको आधारमा बीमितहरुलाई बोनश वितरण गरिन्छ । यस्तो बोनस कम्पनीहरूले प्रत्येक वर्ष घोषणा गर्नुपर्ने प्रावधान छ । कम्पनीहरूले बीमा पोलिसीको प्रकार र पोलिसीको अवधिको आधारमा फरक फरक बोनस निर्धारण गरेका हुन्छन् । 

कम अवधिको बीमा पोलिसीको बोनस कम हुन्छ भने लामो अवधिको बीमा पोलिसीको बोनस धेरै हुन्छ । तर, बीमा कम्पनी र अभिकर्ताले जुनसुकै अवधिको पोलिसी विक्री गर्दा पनि लामो अवधिको बीमा पोलिसीको बोनस नै देखाउने गरेको पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले बताए ।

नेपालका बीमा कम्पनीहरूले न्यूनतम् ५ वर्ष देखि ३० वर्ष अवधिसम्मको बीमा पोलिसी विक्री गर्छन् । जसमध्ये सबैभन्दा धेरै १५ देखि २० वर्ष अवधिको पोलिसी विक्री हुन्छ । २५ देखि ३० वर्ष अवधिको पोलिसी सबैभन्दा कम विक्री हुन्छन् । कम्पनीहरुले यो अवधिको पोलिसीमा दिने बोनसदर सबैभन्दा धेरै हुन्छ । कम्पनी र अभिकर्ताले भने थोरै पोलिसी होल्डरको लागि राखिएको धेरै बोनसदर देखाएर अन्य पोलिसीहरु विक्री गर्ने गरेका छन् । 

बीमा कम्पनीहरूले ५ वर्ष बीमा अवधिको बीमा पोलिसीमा सबैभन्दा थोरै बोनस दिन्छन् । ३० वर्षे बीमा पोलिसीमा सबैभन्दा धेरै बोनस दिन्छन् । तर, बीमा कम्पनी र अभिकर्ताले भने ५ वर्षे र १० वर्षे बीमा पोलिसीमा दिने बोनसलाई प्रवर्द्धन गर्दैनन् । जसका कारण धेरै बीमितहरु पोलिसी खरिद गर्दा झुक्किने गरेको संघका महासचिव केसीले बताए । ‘नेपालमा अझै पनि बीमितहरु बीमा पोलिसीको बारेमा सचेत छैनन् । अभिकर्ताले जे भन्यो त्यही कुरामा विश्वास गर्छन् । अभिकर्ताले जुनसुकै अवधिको पोलिसी विक्री गर्दा पनि ३० वर्ष अर्थात् कम्पनीले दिने अधिकत्तम बोनशदर देखाउँछन्,’ उनले भने ‘बीमितले ३० बर्ष भन्दा कम अवधिको पोलिसी खरिद गर्दा त्यही बोनस पाउँदैन । यसरी बीमितलाई मिसलिड गरिन्छ ।’

व्यवसाय गर्नका लागि कम्पनी र अभिकर्ताले अपनाउने यो रणनीतिले धेरै बीमित भ्रममा पर्ने गरेको नेपाल बीमा प्राधिकरणको बुझाई छ । त्यसैले कम्पनीलाई अधिकत्तम बोनसलाई प्रवर्द्धन नगर्न सचेत गराइने गरेको प्राधिकरणका कार्यकारी निर्देशक शुसिल देव सुवेदीले बताए । ‘हामीले कम्पनीलाई अधिकत्तम बोनसलाई प्रवर्द्धन नगर्न पनि भनि रहेका छौ । कम्पनीलाई यस विषयमा विज्ञापन पनि नगर्न भनेका छौ । तर, कम्पनीले अप्रत्यक्ष रुपमा अभिकर्ता मार्फत भने प्रवर्द्धन गर्छन् । जुन गलत हो,’ उनले भने । यस्ता विषयलाई सञ्चारमाध्यमले पनि प्राथमिकता नदिन उनले आग्रह गरे । सञ्चारमाध्यममा पनि अधिकत्तम बोनसलाई नै प्रवर्द्धन गरिदिने अभ्यास छ । जानेर हो वा नजानेर हो सञ्चारमाध्यममा भएको यो प्रवर्द्धन गलत भएको उनले बताए । 

यसरी झुक्काइन्छ बीमितलाई 

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ४० देखि ६४ रुपैयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले १० वर्ष अवधिको बीमा पोलिसीमा ४० रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीले अधिकत्तम ६४ रुपैयाँ तोकेको बीमा पोलिसीको अवधि ३० वा सो भन्दा माथिको अवधिको छ । कम्पनीले यो अवधिको पोलिसीमा जम्मा १३ वटा पोलिसी विक्री गरेको छ । कम्पनीले सबैभन्दा धेरै दुई लाख २२ हजार ९८० वटा पोलिसी विक्री गरेको छ । तर, यो पोलिसीको अवधिमा १५ देखि १९ वर्ष अवधिको छ । यो पोलिसीका लागि कम्पनीले जम्मा ५३ रुपैयाँ बोनस घोषणा गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि ४२ देखि ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । कम्पनीले ४२ रुपैयाँ तोकेको बीमा पोलिसीको अवधिमा १४ वर्ष र १५ देखि १९ वर्ष अवधिको छ । १४ वर्ष अवधिको एक हजार २३१ वटा पोलिसी विक्री भएको छ । १५ देखि १९ वर्ष अवधिको १६ हजार ४७८ वटा पोलिसी विक्री भएको छ । 

कम्पनीले अधिकत्तम बोनस ७५ रुपैयाँ तोकेको बीमा पोलिसीको अवधिमा २५ वा सो भन्दा माथिको अवधिको लागि भनेको छ । यो पोलिसी कम्पनीले ७१५ वटा मात्रै विक्री गरेको छ । कम्पनीले सबैभन्दा धेरै बाल सावधिकको १५ देखि १९ वर्ष अवधिको पोलिसी विक्री गरेको छ । कम्पनीले यो पोलिसी एक लाख ५२ हजार १९९ वटा विक्री गरेको छ । तर, यो पोलिसीको लागि कम्पनीले ५० रुपैयाँ मात्रै बोनस तोकेको छ । 

माथिको घटना उदाहरण मात्रै हुन् । सबै कम्पनीहरुले लामो अवधिको पोलिसीमा धेरै बोनसदर घोषणा गरेका छन् । जुन पोलिसी सबैभन्दा कम विक्री भएका छन् । कम्पनी र अभिकर्ता भने सोही पोलिसीका लागि निर्धारण गरिएको बोनसदर देखाएर अन्य पोलिसी विक्री गर्छन् । 

कम्पनीहरुले तोक्ने बोनसदरमा पनि प्राधिकरणले सीमा तोक्नु पर्ने संघका महासचिव केसी बताउँछन् । कम्पनीले तोकेको न्यूनतम् दर र अधिकत्तम दर बीच निश्चित सीमा प्राधिकरणले तोक्नुपर्ने उनको तर्क छ । संघले यसअघि प्राधिकरणलाई सीमा तोक्न आग्रह गरेको समेत उनले बताए । 

संघका महासचिव केसी भन्छन् ‘प्रत्येक कम्पनीले वितरण गर्ने पोलिसीको प्रिमियम शुल्क पनि करिब करिब समान हुन्छ । तर, बोनसदर किन तल माथि हुन्छ । यसमा पनि प्राधिकरणको ध्यान जानुपर्छ ।’

तोकेको बोनस नदिएपछि अभिकर्ता नै पुगेको थिए अदालत 

२०६० सालसम्म कम्पनीहरुले विक्री गर्ने बीमा पोलिसीमा नै बोनसदर लेखिने प्रावधान थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले त्यतिबेला विक्री गरेको पोलिसीमा कम्पनीको छाप लगाएर नै बोनस प्रति हजार ६५ रुपैयाँ दिने भनेका थिए । तर, पछि कम्पनीले पोलिसी र पोलिसी अवधि अनुसार बोनस ३७ देखि ६५ रुपैयाँसम्म दिने घोषणा ग¥यो । 

त्यसपछि कम्पनीकै अभिकर्ताहरुले अदालतमा उजुरी दिएको नेपाल लाइफ इन्स्योरेन्सकै अभिकर्ता समेत रहेको संघका महासचिव केसीले बताए । अदालतले पनि अभिकर्ताकै पक्षमा फैसला गरिदियो । पोलिसीमा लेखिएको नै बोनस वितरण गर्न अदालतले फैसला ग¥यो । त्यसपछि कम्पनीले पोलिसीमा लेखिए अनुसार सबै पोलिसी होल्डरलाई बोनस वितरण गरेको उनले बताए । 

कम्पनीले आफ्नो नाफाबाट बिमितहरुलाई बोनस वितरण गर्छन् । बीमा अवधि सकिएपछि बीमांक रकम र बोनस एकमुष्ट रुपमा वितरण गरिन्छ । बीमा अवधि समाप्त हुनु अगावै बीमितको मृत्यू भएमा बीमितले इच्छाएको व्यक्तिलाई बीमांक रकम र सो अवधिसम्म प्राप्त बोनस एकमुष्ट रुपमा भुक्तानी गरिन्छ ।