शीर्षकहरू

भोटेकोशीको बाढीले २५० मेगावाट विद्युत प्रणालीबाट बिच्छेद, कुन-कुन हाइड्रोमा क्षति ?

भोटेकोशीको बाढीले २५० मेगावाट विद्युत प्रणालीबाट बिच्छेद, कुन-कुन हाइड्रोमा क्षति ?

काठमाडौं । भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीले विभिन्न जलविद्युत आयोजनाहरुमा क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरणले रसुवागढी, चिलिमे, त्रिशुली लगायतका आयोजनामा क्षति पुगेको जनाएको हो ।

प्राधिकरणका अनुसार बाढीले रसुवागढी जलविद्युत आयोजनाको ‘हेडवक्र्स’मा पूर्ण रुपमा क्षति पुर्‍याएको छ । यसैगरी, चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ ।

यसैगरी, त्रिशुली ३ ए जलविद्युत आयोजनाको ड्याम साइडको दुइ वटा गेटमा क्षति पुगेको छ । त्रिशुली ३ बीको हब स्टेशनमा खोलाले धार परिवर्तन गरेर खोला सबस्टेशनभित्र छिरेको छ । हालसम्म १३२ के।भी।को बाइ लगायतका संरचनामा क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार त्रिशुली करिडोरको रसुवागढ, त्रिशुली ३ ए, देविघाट त्रिशुली लगायत निजी क्षेत्रको अपर मैलुङ टाँडी गरी करिब २५० मेगावाट विद्युत प्रणालीबाट बिच्छेद भएको छ ।

उक्त बाढी पश्चात असार २४ गते नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्रशारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक राजन ढकाल सहितको उच्चस्तरीय प्राविधिक टोलीले निरीक्षण तथा स्थलगत अनुगमन गरेको थियो ।