शीर्षकहरू

शेयर बजार सकारात्मक लयमा, नेप्से फेरि २७ सय विन्दु माथि उक्लियो

शेयर बजार सकारात्मक लयमा, नेप्से फेरि २७ सय विन्दु माथि उक्लियो

काठमाडौं । चालु आवको अन्तिम महिना चलिरहदा शेयर बजारले सकारात्मक लय समातेको छ । असार १५ गतेदेखि लगातार बढेको बजारमा बिचमा २ दिन करेक्सन आएपछि बजारले पुनः सकारात्मक लय लिदा नेप्से सूचक २७ सय अंक माथि पुगेको छ ।

बुधबार नेप्से सूचक सूचक २२.०४ विन्दुले बढेर २७०५.९० विन्दुमा बन्द भएको छ । यस दिन ७ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेप्सेसँगै यस दिन करोबार रकम पनि बढेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे ६ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।

मंगलबारको तुलनामा शेयर कारोबार रकममा पनि सुधार आएको छ । बजारले सकारात्मक लय लिँदै गर्दा यस दिन फाइनान्स र म्युचुअल फन्ड समूह बाहेक बाँकी सबै समूहमा सुधार देखिएको छ । १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यस दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४६ करोड ७१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन बुटवल पावर कम्पनीको साढे ३६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम ३५ करोड नाघेको छ।

null