काठमाडौं । देशभर ४२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत आइतबारसम्ममा सुदुरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाई सकिएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम १३.६ प्रतिशत रोपाई सकिएको छ । मधेश धान धेरै उत्पादन हुने प्रदेश हो ।
मन्त्रालयका अनुसार कोशीमा प्रदेशमा २९.५ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत रोपाई सकिएको छ । यसैगरी लुम्बिनीमा ५२.१ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाई सकिएको छ ।
कोशी प्रदेशमा हालसम्म ८१ हजार ६ सय ३५ हेक्टरमा रोपाइँ सकिएको छ । मधेश प्रदेशमा मा ५१ हजार दुई सय ५० हेक्टरमा मात्र रोपाइँ भएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा ६२ हजार पाँच सय ६१ हेक्टरमा रोपाइँ सकिएको छ । गण्डकी प्रदेशमा ५२ हजार तीन सय ५३ हेक्टरमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा एक लाख ५७ हजार आठ सय ५७ हेक्टरमा रोपाइँ सकिएको छ । सबैभन्दा कम धान रोपाइँ हुने क्षेत्रफल रहेको कर्णालीमा हालसम्म २९ हजार दुई सय ९९ हेक्टरमा रोपाइँ सकिएको छ । सुदुरपश्चिममा हालसम्म एक लाख ४५ हजार नौ सय ३२ हेक्टरमा रोपाइँ सकिएको छ ।
कोशीमा यो वर्ष दुई लाख ७६ हजार तीन सय ८७ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको थियो । कोशीको झापा, मोरङ र सुनसरी धेरै धान उत्पादन हुने जिल्ला हुन् । मधेशमा सबैभन्दा धेरै तीन लाख ७६ हजार तीन सय २७ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । मधेशमा ढिला मनसुन सुरु भएको र अहिले पर्याप्त पानी नपरेकाले रोपाइँ हुन नसकेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा एक लाख २० हजार पाँच सय ४५ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । गण्डकी प्रदेशमा ९४ हजार एक सय ८२ हेक्टर रोपाइँ हुने क्षेत्रफलमा रोपाई हुने अनुमान छ । मधेशपछि लुम्बिनीमा सबैभन्दा धेरै तीन लाख दुई हजार नौ सय ३९ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको थियो । कर्णालीमा ४० हजार आठ सय ८४ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । सुदुरपश्चिममा एक लाख ७६ हजार एक सय ५१ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ ।
आर्थिकन्यूज