काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा हायर पर्चेज कर्जा वापत पौने ७ अर्ब रुपैयाँ प्रवाह भएको छ । यो अवधिमा ६ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ हायर पर्चेज प्रकृतिको कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यस प्रकृतिको कर्जा ५.५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ हायर पर्चेज कर्जा विस्तार भएको थियो । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा १ खर्ब ३० अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
यो अवधिकमा प्रभाव भएको हायर पर्चेज मध्ये ७७.६ प्रतिशत व्यक्तिगत र व्यवसायीक तर्फ २२.४ प्रतिशत कर्जा गएको छ । व्यक्तिगत तर्फ ५ अर्ब ३१ करोड १२ लाख र व्यवसायीक तर्फ १ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ कर्जा विस्तार भएको हो ।
गत आवको असार मसान्तसम्मको तुलनामा व्यक्तिगत तर्फ १४.४ प्रतिशत र व्यवसायीक तर्फ विस्तार हुने हायर पर्चेज कर्जा १.८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ । गत आवको असार मसान्तसम्म व्यक्तिगत तर्फ ३६ अर्ब ८४ करोड १३ लाख रुपैयाँ प्रवाह भएको थियो । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ४२ अर्ब १५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, व्यवसायीक तर्फ गत आवको असार मसान्तसम्म ८७ अर्ब २६ करोड ११ लाख रुपैयाँ विस्तार भएकोमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ८८ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
आर्थिकन्यूज