काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अन्तिम तयारी गरिरहेका शेयर लगानीकर्ताहरु भने उत्साहित देखिएका छन् । गभर्नर भएको केहि समय पश्चात नै बजारको मागअनुसार शेयर धितो ऋणको जोखिम भार १०० प्रतिशत कायम गरेपछि गभर्नरप्रति शेयर लगानीकर्ताहरु थप आशावादी देखिएका हुन ।
लामो समयसम्म २६ अंककै पेरिफेरिमा चलिरहेको नेप्से पछिल्लो दुई सातामा १३६ अंक बढीसकेको छ । गभर्नर पौडेलले शेयर धितो ऋणको जोखिम भार घटाउने मात्र नभई चालु पुँजी कर्जा नीतिमा संशोधन गरे भने निर्देशित कर्जा बिस्तारको समय बढाइदिए । साथै २ करोडभन्दा कम ऋण खानेहरुलाई पुनर्सरचना सुविधा समेत दिए । मौद्रिक नीति पूर्व नै बजार चलायमान बनाउने केही कार्यहरु गरेर उनले उदार मौद्रिक नीति आउने संकेत गरेपछि शेयर बजारमा थप चहलपहल बढेको हो । जसले गर्दा कारोबार रकममा बढोत्तरी हुँदै गएको छ भने नेप्से सूचक पनि सकारात्मक लयमा रहेको छ ।
गभर्नरको खुकुलो नीतिले बजारमा उत्साह छाएको छ । शेयर बजार बिस्तारै उकालो लाग्न थालेको छ । कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको प्राथमिकता रहेका छन् । साथै नीजिक्षेत्र पनि मौद्रिक नीतिको आगामी कार्यदिशा पुर्ण रुपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा जोड दिदैँ आएको छ ।
बिहीबार नेप्से परिसूचक २५.८९ अंक बढेर २७३१.८० विन्दुमा पुगेको छ। बिहीबार शेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । यो अंक २८ फागुनयताकै उच्च हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार करिब साढे ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ८८ हजार ६१५ पटकको कारोबारमा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन माइ खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.१५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावर, समता लघुवित्त वित्तीय संस्था र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९.९२ प्रतिशत घटेको छ।
कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५७ करोड ५ लाख ७७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ३२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा बैंकको करिब साढे २६ करोडको शेयर कारोबार भएको छ।
आर्थिकन्यूज