काठमाडौं । बैक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर ओरालो लागेको छ। वित्तीय संस्थामा अधिक तरलता र कर्जा प्रवाह खुम्चिएपछि कर्जाको ब्याजदर ओरालो लागेको हो । गत जेठ महिनामा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशतमा झरेको छ ।
अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ६.०९ प्रतिशतमा झरेको छ । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्। बैंकको आधार दर घट्दै गएकाले पनि कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ ।
अर्थतन्त्रमा शिथिलता आएसँगै कर्जाको माग घटेपछि ब्याजदर पनि घट्दो क्रममा छ । पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउदै लगेका हुन् । बैंकहरुले गत कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको लागत घट्न गई आधारदर (बेस रेट) सस्तिँदा कर्जाको ब्याजदर पनि थप घटेको हो ।
जेठ महिनामा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत रहेको छ । यो झण्डै साढे ३ वर्ष यताको सस्तो हो । यसअघि २०७८ माघमा बैंकहरुको कर्जाको ब्याजदर औसत ९.४४ प्रतिशत थियो । त्यसयता औसत ब्याजदर बढ्दै १३.०३ प्रतिशतसम्म पुगेकोमा अहिले घट्दै आएर ८ प्रतिशत भन्दा मुनि झरेको हो । बैंकहरुलै प्रवाह गर्ने सबैजसो कर्जाकोे औसत ब्याजदर एकल अंकमा रहेकोे छ ।
राष्ट्र बैंकका अनुसार विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ६.९४ प्रतिशतमा आएको छ । सबैभन्दा उच्च ब्याजदर रहेको ओभर ड्राफ्ट कर्जाको ब्याजदर ८.९८ प्रतिशत रहेको छ । यस्तै, अन्य सबै प्रकारको कर्जाको ब्याजदर यहीबीचमा रहेको छ । शेयर धितो कर्जाको ब्याजदर ७.९८ प्रतिशतमा झरेको छ ।
पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदरका साथसाथै कर्जाको ब्याजदर पनि घटाउँदै लगेका छन् । तर, पनि कर्जा प्रवाह अपेक्षितरुपमा हुन सकेको छैन । कर्जा प्रवाह नभएपछि बैंकहरुले निक्षेपकर्तालाई दिने भन्दा सस्तो ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप उपकरणमार्फत पैसा राखिरहेका छन् ।
कर्जाको ब्याजदर एकल अंकमा आएको अवस्था र राष्ट्र बैंकले समेत आगामी मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने लक्ष्य राखेकाले नेपाली अर्थतन्त्रमा लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको छ । पछिल्लो समयमा बैंकहरुले घर कर्जा, सवारी कर्जा तथा शेयर कर्जाका आकर्षक योजनाहरु ल्याएर कर्जा विस्तारलाई जोड दिएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले समेत घर कर्जा तथा शेयर कर्जाको नीति केही खुकुलो बनाएकाले आगामी दिनमा यस क्षेत्रमा अझै कर्जा विस्तार हुने आँकलन गरिएको छ ।
आर्थिकन्यूज