काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर बजारलाई थप प्रोत्साहन गर्ने भएपछि शेयर लगानीकर्ता उत्साहित भएका छन् । जसले गर्दा मौद्रिक नीतिपछि खुलेको शेयर बजारमा सूचकसँगै कारोबारमा सुधार आएको छ ।
आइतबार नेप्से सूचक २९ अंकले बढेर २७६० अंकमा पुगेको छ । बजार खुल्नासाथ उकालो लागेको बजार इन्ट्रा डे मा ६६ अंकले बढेर २८ सय अंक नजिक पुगेको थियो । त्यसपछि उतारचढाब देखिएको बजार २९ अंक माथि उक्लिएर बन्द भएको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। यसदिन बैंकिङ र लघुवित्तमा लगानीतकर्ताको विशेष आकर्षण देखिएको छ ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जलविद्युत, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।
नेपाल राष्ट्र बैंकले जारी गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले शेयर बजारलाई थप प्रोत्साहन गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरूले दिने व्यक्तिगत शेयर धितोको कर्जा सीमा १० करोडले बढाएका छन् ।
बैंकहरूले दिने व्यक्तिगत शेयर धितोको कर्जाको सीमा २५ करोड कायम गरिएको छ ।अहिले यस्तो सीमा १५ करोड छ । शेयर लगानीकर्ताहरूले लामो समयदेखि यस्तो सीमा हटाउन आग्रह गर्दै आएका थिए। यसअघि संस्थागत कर्जाको सीमा हटाइएको थियो।
त्यस्तै, बैंकहरूले अब आवश्यकता अनुसार राष्ट्र बैंकको स्वीकृतिमा पुँजी बढाउन पाउने भएका छन्। बैंकहरूले हकप्रद शेयर जारी गरेर समेत पुँजी वृद्धि गर्न पाउने व्यवस्था भएपछि यसको प्रभाव पनि बजारमा देखिएको हो ।
यसैगरी ब्याजदर करिडोरको माथिल्लो सीमालाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमालाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ । यसले ब्याजदर घटाउने आकँलन गरिएको छ। निक्षेपको ब्याजदर घट्दा शेयरजस्ता अन्य क्षेत्रमा लगानी बढ्ने गरेको छ। सामान्यतः निक्षेपको ब्याजर दर घट्दा शेयर बजार उकालो लाग्छ र ब्याजदर बढ्दा बजार घट्ने विश्लेषण रहेको छ ।
साथै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरवलोकन गर्ने भएको छ। मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले भने, ’लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरवलोकन गरिनेछ।’
हाल लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश दिँदा त्यसभन्दा धेरै हुने रकम विभिन्न कोषमा राख्नुपर्ने व्यवस्था छ ।लघुवित्तको लाभांशको सीमा पुनरवलोकन गरिने भएकाले पनि लघुवित्तमा शेयर लगानीकर्ताको आकर्षण देखिएको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.९३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड १४ लाख ९९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब ३३ करोडको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे २८ करोड नाघेको छ।
आर्थिकन्यूज