काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओ साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बसिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
जसमध्ये स्थानीय बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता निष्काशन गर्न लागिएको हो । यो निष्काशित शेयर खरिदका लागि साउन ९ गतेसम्म आवेदन दिन सकिने छ ।
स्थानीय बासिन्दाका लागि खुलाइएको शेयरमा आयोजना प्रभावित क्षेत्र तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सवै वडाहरु, आँवुखैरेनी गाँउपालिकाका सबै वडाहरु, भानु नगरपालिका वडा नं १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७० का स्थानीय बासिन्दाहरुले आवेदन दिन पाउने छन् ।
कम्पनीले धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरका ५८ करोड ६० लाख रुपैयाँ बराबरको कुल ५८ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर जारी गर्नेछ । कम्पनीले जारी पुँजीको २०.७१ प्रतिशत बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीमा संस्थापक समूहको २ अर्ब २४ करोड ४० लाख रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ । जुन जारी पुँजीको ७९.२९ प्रतिशत हो।
आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
आर्थिकन्यूज