काठमाडौं । सवारी आयातकर्ता कम्पनि/फर्मले अर्धवार्षिक कार्य प्रतिवेदन पेश गर्नु पर्ने प्रस्ताव गरिएको छ । यातायात व्यवस्था विभागले तयार पारेको सवारी आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाको मस्यौदामा कम्पनीहरुले अर्धवार्षिक कार्य प्रतिवेदन पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।
जस अनुसार सवारी आयातकर्ता कम्पनि/फर्मले प्रत्येक आर्थिक वर्षको साउन देखि पुषसम्मको कार्य अवधिको लागि माघ मसान्त भित्रमा र माघ देखि असारसम्मको कार्य अवधिको लागि साउन मसान्त भित्रमा सो अवधिमा सम्पन्न कार्यको प्रतिवेदन विभाग समक्ष पेश गर्नु पर्नेछ ।
सो विवरणमा आयात भएका सवारीसाधनको संख्या र विवरण, बिक्री वितरण भएका तथा मौजदातमा रहेका सवारीसाधनको विवरण, प्रत्येक मोडेलको सवारीकोलागि आयात भएका स्पेयर्स पार्टसको पार्टस नम्बर सहितको विवरण, कुनै सवारीको सम्बन्धमा ग्राहकवाट प्राप्त गुनासो र गुनासो समाधानकोलागि गरेका कारबाहीको विवरण उल्लेख गर्नुपर्ने छ ।
यसैगरी, सवारी जडानकर्ता वा उत्पादनकर्ता कम्पनीले पनि प्रत्येक आर्थिक वर्षको साउनदेखि पुषसम्मको कार्य अवधिको लागि माघ मसान्त भित्रमा र माघ देखि असारसम्मको कार्य अवधिको लागि साउन मसान्त भित्रमा सो अवधिमा सम्पन्न कार्यको प्रतिवेदन विभाग समक्ष पेश गर्नु पर्नेछ ।
सो विवरणमा प्रकार अनुमोदन प्रमाणपत्र, अनुपालन प्रमाणपत्र, उत्पादनको तादात्म्यता प्रमाणपत्र प्राप्त भएको सवारीको विवरण, जडान वा उत्पादन तथा विक्री वितरण भएका सवारीहरुको मोडेल, संख्या र पहिचान नम्बर, जडान तथा उत्पादनका लागि पैठारी भएका पाटपूर्जा तथा कच्चा पदार्थहरुको प्रकार, परिमाण र भन्सार कागजातहरु, जडान तथा उत्पादनका लागि स्वदेशमै तयार गरिएका पाटपूर्जाहरुको प्रकार तथा परिमाण, जडान तथा उत्पादन प्रक्रियाका लागि खरिद तथा जडान भएका मेशिनरी उपकरणहरुको विवरण, जडान वा उत्पादन प्रक्रियामा भएको त्रुटी सम्बन्धमा उपभोक्ताबाट प्राप्त गुनासो भए सोको विवरण र त्यस्ता त्रुटी सच्याउन जडानकर्ता वा उत्पादकले गरेका कार्यको विवरण उल्लेख गरिएको हुनुपर्ने छ ।
यसैगरी, आफु वा आफ्ना आधिकारिक बिक्रेताबाट बिक्री वितरण गरिएका सवारी साधनको बिक्री भएको मितिबाट छ महिनाको अवधिभित्र उत्पादन वा संचालनसंग सम्बन्धित कुनै किसिमको खरावी उत्पन्न भएको अवस्थामा सो को निशुल्क मर्मत वा सवारीको प्रतिस्थापन गर्नु आयातकर्ता फर्म वा कम्पनिको दायित्व हुनेछ । तर उत्पादक कम्पनिले तोकेको समय सारिणी अनुसारको पिरियोडिक मेन्टिनान्स नगरेको कारण त्यसरी खराबी उत्पन्न भएको रहेछ भने आयातकर्ता फर्म वा कम्पनि सवारीको निशुल्क मर्मत वा सवारीको प्रतिस्थापन गर्न बाध्य हुने छैन ।
सवारीसाधन बिक्री गर्ने फर्म वा कम्पनिले कम्तिमा दश वर्षसम्म आफूले विक्री गरेको सवारी साधनको लागि स्पेयर पार्टस तथा प्रणालीको रुपमा प्रयोग हुने कम्पोनेन्टहरुको चाईल्ड पार्टसको सुनिश्चितता प्रदान गर्नुको साथै सवारी मर्मत संभारको सुनिश्चितता समेत गर्नुपर्ने व्यवस्था रहेको छ ।
आधिकारिक बिक्रेताले आफुले बिक्री गर्ने सवारीमा लाग्ने स्पेयरपार्टसको मुल्य र मर्मत खर्चको सम्बन्धमा सवारी बिक्री गर्दाको समयमा ग्राहकलाई लिखित रुपमा जानकारी गराउनुपर्नेछ, आफूले बिक्री गरेको सवारीसाधन मर्मतको लागि ल्याईएमा च्यासिस वा ईन्जिन ब्लक आयात गर्नुपर्ने विशेष परिस्थिति बाहेक त्यस्ता सवारीको तीन दिनभित्र मर्मत संभार गरि दुरुस्त पारी दिने दायित्व आयातकर्ता फर्म वा कम्पनिको हुने र सो को लागि आवश्यक पार्टपूर्जा मोजदातमा हनुपर्ने उल्लेख छ ।
आर्थिकन्यूज