काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा उत्साह छाएको शेयर बजार सोमबार ३५ अंकले घटेको छ । बजारमा अल्कालिन लगानीककर्ताहरु नाफा सुरक्षित गर्नतर्फ केन्द्रीत भएपछि नेप्सेमा गिरावट आएको हो ।
बजारमैत्री मौद्रिक नीतिको अपेक्षामा गत असार १५ यता शेयर बजार लगाताजसो बढेको थियो । बिचमा केहीदिन करेक्सन आएको भएपनि पछिल्लो दुई सातामा करिक डेढ सय अंकमाथि पुगेको बजारमा प्रोफिट बुकिङको प्रेशर पर्दा गिरावट आएको जानकारहरुको भनाई छ । मौद्रिक नीतिअघि नै बजार बढेकाले सोमबार नाफा बुक भएको उनीहरुको बुझाई छ ।
सोमबार नेप्से परिसूचक ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब साढे ११ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन बैंकिङ समूह सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १.४८, फाइनान्स १.१३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ तथा व्यापार ०.६४ प्रतिशत घटे ।
यस दिन माइ खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.९० अंक प्रतिशत बढेको छ । त्यस्तै, यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ४.४६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ८८ लाख ५३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब साढे ३९ करोडको शेयर किनबेच भएको छ भने सानिमा बैंकको कारोबार रकम २४ करोड ७५ लाख रुपैयाँ नाघेको छ।
आर्थिकन्यूज