शीर्षकहरू

नयाँ स्टक एक्सचेन्जका लागि निक्कै ठूलो चलखेल भैरहेको छ, के अहिलेको सरकार अर्बौको भ्रष्टाचार रोक्न तयार छ ?

नयाँ स्टक एक्सचेन्जका लागि निक्कै ठूलो चलखेल भैरहेको छ, के अहिलेको सरकार अर्बौको भ्रष्टाचार रोक्न तयार छ ?

काठमाडौं ।नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जमा अर्बौको भ्रष्टाचार भएको बताएका छन् । संसदमा विशेष सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले बिचौलियाहरुको सेटिङमा नयाँ स्टकको लाइसेन्स वितरणमा ठूलो नीतिगत भ्रष्टाचार हुन लागेको बताएका हुन । वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको उनको भनाई थियो ।

स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए।

अध्यक्ष प्रचण्डले भने, “अहिले फेरि नयाँ स्टक एक्सचेन्जका लागि निक्कै ठूलो चलखेल भैरहेको छ । के अहिलेको सरकार लाइसेन्स लिन तयार रहेका कम्पनीहरुको प्रकृया रोकेर भ्रष्टाचार रोक्न तयार छ ? सम्माननिय सभामुख महोदय यो प्रश्न निकै गम्भिर छ । र म यो सम्मानित सदन समक्ष अहिलेको प्रकृया रोकेर भ्रष्टाचार रोकेर नयाँ लाइसेन्स वितरणको प्रकृया अघि बढाउन आग्रह गर्छु' ।

उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए। उनले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको जिकीर गरे । 

अध्यक्ष प्रचण्डले संसदमा भने, “तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ।” उनका अनुसार अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ।

सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले भने, “सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो।” सार्वभौम संसदलाई पनि बिचौलियाहरुको खेल मैदान बनाउन लागिएको दाहालको आरोप छ ।

‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा भ्रष्टाचार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताए ।उनले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डील गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीप्रति व्यंग्यात्मक लहजामा भने, “तपाईंका मन्त्रिहरू खुल्लमखुल्ला लाखौंको डील गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?”

उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र विचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए। “जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति” भन्दै उनले विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना भएको टिप्पणी गरे ।