शीर्षकहरू

वाणिज्य बैंकबाट प्रवाह भएको हायर पर्चेज कर्जा ८ अर्ब २१ करोडले बढ्यो, कुन बैंकको कति ?

वाणिज्य बैंकबाट प्रवाह भएको हायर पर्चेज कर्जा ८ अर्ब २१ करोडले बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुबाट विस्तार भएको हायर पर्चेज कर्जा ८ अर्ब २१ करोड रुपैयाँ बढीले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनासम्म वाणिज्य बैंकबाट हायर पर्चेज शिर्षकमा १ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन गत आवको असार मसान्तसम्म प्रवाह भएको कर्जाभन्दा ८ अर्ब २१ करोड बढी हो ।

गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुबाट १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ हायर पर्चेज कर्जा विस्तार भएको थियो । अर्थात् वाणिज्य बैंकबाट विस्तार हुने यस प्रकृतिको कर्जा ७.६८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्लो ११ महिनामा विकास बैंकबाट प्रवाह हुने हायर पर्चज कर्जा भने घटेको छ । गत आवको असार मसान्तसम्म विकास बैंकबाट १३ अर्ब ९९ करोड रुपैयाँ कर्जा विस्तार भएको थियो । चालु आवको जेठ मसान्तसम्म यस्तो कर्जा घटेर १२ अर्ब ४९ करोड ९० लाख रुपैयाँ मात्रै विस्तार भएको छ । 

अर्थात् ११ महिनामा कर्जा लिने भन्दा भुक्तानी गर्ने धेरै भएपछि विकास बैंकको यस प्रकारको कर्जा घटेको हो । फाइनान्स कम्पनीबाट प्रवाह हुने हायर पर्चेज कर्जा भने १० करोड ९० लाख रुपैयाँले वृद्धि भएको छ । गएको असार मसान्तसम्म ३ अर्ब २५ करोड ३० लाख रुपैयाँ कर्जा विस्तार भएको थियो । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३ अर्ब ३६ करोड २० लाख रुपैयाँ कर्जा विस्तार भएको केन्द्रिय बैंकको तथ्यांक छ । 

समग्रमा पछिल्लो ११ महिनामा हायर पर्चेज शिर्षकमा विस्तार हुने कर्जा ६ अर्ब ८२ करोड ८४ लाख रुपैयाँले वृद्धि भएको छ । गत आवको जेठ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट १ खर्ब २४ अर्ब १० करोड ३० लाख रुपैयाँ कर्जा विस्तार भएको थियो । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा यस्तो कर्जा बढेर १ खर्ब ३० अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ । 

null

कुन वाणिज्य बैंकको हायर पर्चेज कर्जा बढ्यो/घट्यो ? 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ वटा बैंकले हायर पर्चेज कर्जा बढाएका छन् भने ८ वटाले घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै एभरेष्ट बैंकको हायर पर्चेज कर्जा वृद्धि हुँदा कुमारी बैंकको भने सबै भन्दा धेरै घटेको छ । 

पछिल्लो ११ महिनामा एभरेष्ट बैंकको हायर पर्चेज कर्जा ४ अर्ब २२ करोड ७८ लाख रुपैयाँले वृद्धि हुँदा राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ९७ करोड २६ लाख, ग्लोबल आईएमई बैंकको १ अर्ब ७० करोड ९१ लख, सानिमा बैंकको १ अर्ब २२ करोड ७० लाख र कृषि विकास बैंकको ९० करोड २० लाख रुपैयाँले वृद्धि भएको छ । 

यता, कुमारी बैंकको हायर पर्चेज कर्जा १ अर्ब ६५ करोड ८२ लाख रुपैयाँले घटदा एनआईसी एसिया बैंकको १ अर्ब ३८ करोड ४३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८७ करोड ९५ लाख र हिमालयन बैंकको ५८ करोड १३ लाख रुपैयाँले हायर पर्चेज कर्जा घटेको छ । 

null