काठमाडौं । गत असार १५ गतेदेखि सकारात्मक लयमा देखिएको शेयर बजार करेक्शन हुँदै माथि माथि लम्किएको छ । यसबाट शेयर बजारका लगानीकर्ताहरु नाफा बुकसँगसँगै लगानी बढाउने रणनीतिमा रहेको बुझिन्छ। अल्पकालिन लगानीककर्ताहरु नाफा सुरक्षित गर्नतर्फ केन्द्रीत हुँदा बजार करेक्शन हुँदै अगाडि बढेको देखिन्छ ।
बजारमैत्री मौद्रिक नीतिको अपेक्षामा गत असार १५ यता शेयर बजार लगातार जसो बढेको थियो । बिचमा केहीदिन करेक्शन आएको भएपनि पछिल्लो दुई सातामा करिब डेढ सय बढीसकेकोे छ । असार १५ गते २६ सय २२ अंकमा रहेको नेप्से असार ३१ गतेसम्म आइपुग्दा २७६० अंकमा पुगेको छ । पछिल्लो १३ कारोबार दिनमा नेप्से ३ दिन मात्र घटेको छ । केहि दिन लगातार बढ्ने त्यसपछि केही करेक्शन हुने तथा फेरि बढ्ने प्रक्रिया दोहोरिएकाले बजार सकारात्मक लयमा आइसकेको जानकारहरुको दाबी छ ।
असार १५ गतेदेखि लगातार ६ कारोबार दिन बढेको बजारमा त्यसपछिका २ दिन सामान्य करेक्शन आयो । त्यसपछि लगातार ३ दिन दोहोरो अंकले बढेको बजार एक दिनको करेक्शनपश्चात पुन उकालो लागेको छ । सूचकमा सुधारसँगै कारोबार रकमले समेत साथ दिएकाले बजारको यो वृद्धि टिकाउ हुने जानकारहरुको भनाई छ । करेक्शनले बजारलाई थप बलियो बनाउँदै माथि उचाल्ने लगानीकर्ताहरुको बुझाई छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्से परिसूचक मंगलबार बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ३४.४६ अंक बढेर २७६०.१७ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब १७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ । यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.८१ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ४.६४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड ३२ लाख ६३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८-८९ को ५० करोड ५१ लाख २१ हजार रुपैयाँबराबरको ऋणपत्र किनबेच भएको छ भने राधी विद्युत कम्पनीको करिब ४३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।
आर्थिकन्यूज