काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत थप प्रोत्साहन गर्ने भएपछि सकारात्मक लयमा रहेको शेयर बजार ब्याजदर अझै घट्ने भएपछि झनै बढेको छ । जसले गर्दाे शेयर बजारमा सूचकसँगै कारोबारमा सुधार आएको छ भने नेप्से तथा कारोबार रकम दुबै करिब साढे ४ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
बुधबार नेप्से परिसूचक ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको छ। यस दिनको बन्द विन्दु करिब साढे ४ महिनायताकै उच्च विन्दु हो। नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । यस दिन १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार रकम पनि करिब साढे ४ महिनायताकै उच्च हो। यस दिन १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले शेयर बजारलाई थप प्रोत्साहन गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरूले दिने व्यक्तिगत शेयर धितोको कर्जा सीमा १० करोडले बढाएका छन् । बैंकहरूले दिने व्यक्तिगत शेयर धितोको कर्जाको सीमा २५ करोड कायम गरिएको छ ।अहिले यस्तो सीमा १५ करोड छ । शेयर लगानीकर्ताहरूले लामो समयदेखि यस्तो सीमा हटाउन आग्रह गर्दै आएका थिए।
त्यस्तै, बैंकहरूले अब आवश्यकता अनुसार राष्ट्र बैंकको स्वीकृतिमा पुँजी बढाउन पाउने भएका छन्। बैंकहरूले हकप्रद शेयर जारी गरेर समेत पुँजी वृद्धि गर्न पाउने व्यवस्था भएपछि यसको प्रभाव पनि बजारमा देखिएको हो ।साथै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरवलोकन गर्ने भएको छ।
यसैगरी ब्याजदर करिडोरको माथिल्लो सीमालाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमालाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ। यसले ब्याजदर घटाउने आकँलन गरिएको छ । निक्षेपको ब्याजदर घट्दा शेयरजस्ता अन्य क्षेत्रमा लगानी बढ्ने गरेको छ। सामान्यतः निक्षेपको ब्याजर दर घट्दा शेयर बजार उकालो लाग्छ र ब्याजदर बढ्दा बजार घट्ने विश्लेषण रहेको छ।
यता आज मात्रै अधिकांश वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्ष २०८२–०८३ को पहिलो महिना साउनका लागि निक्षेपको ब्याजदर घटाएका छन् । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर नेपाल राष्ट्र बैंकको दबाबपछि घटाइएको हो । राष्ट्र बैंकले गत शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाउने नीति अवलम्बन गरेको थियो ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर र नीतिगत दर ०.५० प्रतिशत विन्दु तथा निक्षेप संकलन दरलाई ०.२५ प्रतिशत विन्दुका दरले घटाएको छ । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि थप दबाब पुगेको हो । पछिल्लो दुई महिना निक्षेपको ब्याजदर स्थिर जस्तै रहेकोमा मौद्रिक नीतिपछि बैंकहरुले घटाएका हुन।
असारको तुलनामा साउनका लागि १४ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन भने ४ वटाले स्थिर राख्दा २ बैंकले भने बढाएका छन् ।
अर्थतन्त्रमा शिथिलता आएसँगै कर्जाको माग घटेपछि ब्याजदर पनि घट्दो क्रममा छ । पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउदै लगेका हुन् । बैंकहरुले गत कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको लागत घट्न गई आधारदर (बेस रेट) सस्तिँदा कर्जाको ब्याजदर पनि थप घटेको हो । अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ६.०९ प्रतिशतमा झरेको छ।
जेठ महिनामा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत रहेको छ । यो झण्डै साढे ३ वर्ष यताको सस्तो हो । यसअघि २०७८ माघमा बैंकहरुको कर्जाको ब्याजदर औसत ९.४४ प्रतिशत थियो । अहिले शेयर धितो कर्जाको ब्याजदर ७.९८ प्रतिशतमा झरेको छ ।
पछिल्लो समयमा बैंकहरुले घर कर्जा, सवारी कर्जा तथा शेयर कर्जाका आकर्षक योजनाहरु ल्याएर कर्जा विस्तारलाई जोड दिएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले समेत घर कर्जा तथा शेयर कर्जाको नीति केही खुकुलो बनाएकाले आगामी दिनमा यस क्षेत्रमा अझै कर्जा विस्तार हुने आँकलन गरिएको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा १ खर्ब २८ अर्ब ६७ करोड बढी कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गरेर्को कर्जा करिब ४२.८ प्रतिशतले बढेको छ । यसै अवधिमा ठूला शेयर धितो कर्जा लिनेहरु अर्थात १ करोड भन्दा माथिको कर्जा लिनेहरु साढे ५८ प्रतिशतले बढेका छन् । ११ महिनाको अवधिमा मात्रै बैंक-वित्तीय संस्थाहरुले ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह गरेका छन् ।
शेयर बजारको विस्तारको गति हेर्दा जुन रुपमा शेयर कर्जा बढेको सो अनुपातमा बजारमा त्यसको प्रभाव कम देखिएकाले यो शिर्षकको कर्जा अन्यत्रै प्रयोग भएको आँकलन समेत गरिएको छ । साना कर्जा लिनेहरु घट्ने तथा ठूला कर्जा लिनेहरु बढेकाले शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाएको अनुमान गर्न सकिन्छ । अहिले बैंकहरुको ठूलो रकम शेयर बजार आउने क्रम जारी रहेकाले बजारमा सुधार आउने अनुमान भइरहेको छ ।
आजको बजारमा १० प्रतिशत केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। माइ खोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.८७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ८७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ५६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ।
आर्थिकन्यूज