शीर्षकहरू

सरकारी बीमा कम्पनीले नै टेर्दैनन् प्राधिकरणलाई, आव सकिएको एक वर्षमा पनि पेश गरेनन वित्तीय विवरण

सरकारी बीमा कम्पनीले नै टेर्दैनन् प्राधिकरणलाई, आव सकिएको एक वर्षमा पनि पेश गरेनन वित्तीय विवरण

काठमाडौं । सरकारको लगानी रहेको बीमा कम्पनीले नै समयमा लेखा परीक्षण नगर्ने गरेको पाइएको छ । आर्थिक वर्ष समाप्त भै सक्दा पनि सरकारको लगानी भएको राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणमा लेखा परीक्षण बुझाएका छैनन् ।

प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीले सन् २०१७ देखिको वित्तीय विवरण बुझाएका छैनन् । प्राधिकरणले बारम्बार ताकेता गर्दा पनि कम्पनीहरूले अटेरी गर्दै आएको प्राधिकरणको गुनासो छ । समयमा नै लेखा परीक्षण नगर्दा जीवन बीमा कम्पनीको हकमा बोनस दर घोषणा हुँदैन, बोनस घोषणा गर्दा बीमितहरु अन्यौलमा हुन्छन् । बीमितहरुलाई अन्यौलमा पार्ने गरी राष्ट्रिय बीमा कम्पनीले दशकौ देखि वित्तीय विवरण पेश गरेको छैन । 

नेपाल बीमा ऐन २०७९ धारा ८७ मा बीमकको लेखापरीक्षणको व्यवस्था गरिएको छ । जसअनुसार बीमकले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनु पर्नैछ । सो अवधिभित्र लेखापरीक्षण गराउन नसक्ने बीमकले मनासिव कारण खुलाई लेखापरीक्षण गराउने अवधि थपको लागि अनुरोध गरेमा प्राधिकरणले दुई महिनासम्मको अवधि थप गरिदिन सक्नेछ । 

बीमकले आफनो लेखापरीक्षण सम्पन्न भएको ३० दिनभित्र आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरण समक्ष पेश गर्नुपर्नेछ । अर्थात् कम्पनीहरूले आव समाप्त भएको ६ महिना अर्थात् पुसमसान्तसम्ममा प्राधिकरणबाट लेखापरीक्षण स्वीकृति गराई सक्नुपर्नेछ । 

बीमकको वित्तीय विवरणको सम्बन्धमा छलफल गर्न आवश्यक परेमा प्राधिकरणले बीमकका सञ्चालक, कार्यकारी प्रमुख, कर्मचारी, लेखापरीक्षण वा अन्य सम्बन्धित कुनै व्यक्ति वा संस्थालाई बोलाउन सक्नेछ । लेखापरीक्षण सम्बन्धमा प्राधिकरणले आवश्यक ठानेको अतिरिक्त जानकारी पेश गर्न आदेश दिन सक्नेछ । 

बीमकले लेखापरीक्षण गराउनु पर्ने म्यादभित्र लेखापरीक्षण नगराएमा प्राधिकरणले पहिलो एक हप्तासम्मको लागि ५० हजार रुपैयाँ जरिवाना गर्न सक्नेछ । ऐन बमोजिम एक हप्तादेखि बढी एक महिनासम्मको लागि एक लाख रुपैयाँ र तीन महिनादेखि बढी जतिसुकै अवधिसम्मको लागि १० लाख रुपैयाँ  जरिवाना गर्न सक्नेछ । ऐन बमोजिम तोकिएको समय भित्रमा नै लेखापरीक्षण सम्पन्न नगर्ने कम्पनीलाई प्राधिकरणले पत्र काटेको प्राधिकरणले जनाएको छ ।