शीर्षकहरू

गुलियो क्याम्प कोलाको तितो वास्तविकता

गुलियो क्याम्प कोलाको  तितो वास्तविकता

काठमाडौं । रिलायन्सको ८,००० करोड भारु  (नेरु  १२,८००) को  लगानी भएको   क्याम्पा कोला  नेपाली बजारमा  भित्रिएको छ ।  चौधरी समूहसँगको सहकार्यमा यसको हिजो देखि  विक्रि वितरण गर्न थालिएको  छ । भारतको एक समयको लोकप्रिय यस  सफ्ट ड्रिंकले  कोका-कोला र पेप्सीजस्ता अहिले बजारका स्थापित  ब्राण्डलाई कडा  चुनौती दिने रणनीतिको साथ अघि बढीरहेको छ । उल्लेखित ठूलो लगानीको आडमा  यस पेय पदार्थको लोकप्रियता, बजार उपलब्धता र उपभोक्ता खपत व्यापक रूपमा बढ्ने 
निश्चित प्राय:  देखिन्छ।  

बजारमा क्याम्पा कोलाको बढ्दो उपस्थितिसँगै यसले   स्वास्थ्यमा पार्ने सम्भावित प्रभावबारे बहस चुलिएको छ।  स्वास्थ्य विज्ञहरूको अनुसार, क्याम्पा कोलालाई स्वस्थ पेय पदार्थको कोटीमा राख्न सकिने विश्वासीलो आधारहरु  छैनन्। यसको रासायनिक परीक्षण गर्दा  यसमा अत्यधिक चिनी र  क्यारामेल रङको प्रयोग भएको पाइएको छ।  यसैगरी , क्याफिन र अन्य कृत्रिम मिसावट भएको यस उत्पादनको  पोषण मूल्य पनि शून्य छ।     

अत्यधिक चिनीले  मोटोपन, मधुमेह र अन्य मेटाबोलिक समस्याहरू निम्त्याउन सक्छ भने   क्यारामेल रङले क्यान्सर जस्तो भयावह रोग लाग्ने सम्भावना बढाँउछ ।  यसैगरी, क्याम्पा कोला  पाइने क्याफिन र अन्य कृत्रिम मिसावटहरू बालबालिका र गर्भवती महिलाहरूका लागि विशेषतः हानिकारक हुन्छ ।  त्यस्तै, यो पेय   पदार्थले   शरीरलाई कुनै पनि प्रकारको भिटामिन, खनिज, फाइबर वा प्रोटिन  प्रदान गर्दैन।

स्वास्थ्य विज्ञहरूको अनुसार क्याम्पा कोलाको नियमित सेवन   मोटोपन, मधुमेह र अन्य मेटाबोलिक समस्याहरूको अतिरिक्त  अन्य विभिन्न  शारीरिक एवम मानसिक जटिलताको कारक बन्नसक्छ।  यस्ता जटिलतामा दाँत  खिइने र किरा लाग्ने,   हड्डीको घनत्व घटी   कमजोर  हुने (ओस्टियोपोरोसिस), चिन्ता,  डिप्रेसन र निद्रासम्बन्धी समस्या  पर्दछन।  

"क्याम्पा कोलाको भव्य पुनरागमनले बजारमा नयाँ उत्साह ल्याए पनि, यसको स्वास्थ्य पक्षबारे उपभोक्ताहरू सचेत रहनु अत्यन्त आवश्यक छ। आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै, प्रत्येक उपभोक्ताले बुद्धिमत्तापूर्वक पेय पदार्थ छनोट गर्नुपर्ने देखिन्छ," जानकारहरु बताउँछन्।