शीर्षकहरू

हुवावेले एप्पललाई उछिन्यो

हुवावेले एप्पललाई उछिन्यो

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै, सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो ।

एक रिपोर्टअनुसार, हुवावेले यो वर्षको दोस्रो त्रैमासिकमा एक करोड २५ लाख मोबाइल बिक्री गर्दै १८.१ प्रतिशत बजार हिस्सा लिएको छ ।

यो उन्नति हुवावेका लागि ठुलो सफलता मानिएको छ । कम्पनीले विगतमा अमेरिकी प्रतिबन्ध र भ्रष्टाचार छानबिन जस्ता चुनौतीहरूको सामना गरेको थियो । साथै, चीनको समग्र मोबाइल बजार भने घटेको देखिएको छ ।यस वर्षको दोस्रो त्रैमासिकमा मोबाइल बिक्री चार प्रतिशतले घटेर ६ करोड ९० लाखमा झरेको छ ।

एक अनुसन्धानकर्ता आर्थर गुओका अनुसार, “चीन–अमेरिका व्यापार सहमति भए पनि आर्थिक अवस्था कमजोर छ ।”

उनले भने,“मानिसहरूको खर्च गर्ने विश्वास अझै कम छ, त्यसैले मोबाइलको माग चाँडै बढ्ने सम्भावना छैन ।”

यता, हुवावे र अमेरिका बिच लामो समयदेखि विवाद चलिरहेको छ । अमेरिकाले हुवावेलाई जासुसीको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो, जसलाई कम्पनीले अस्वीकार गर्दै आएको छ ।

सन् २०१९ यता, अमेरिकी प्रविधिको पहुँच गुमेपछि हुवावेले आफ्नै प्रविधि र उपकरण विकास गर्न थालेको हो । यसैबिच, एप्पलको बिक्री घटेको देखिएको छ। पछिल्लो रिपोर्टअनुसार, एप्पल चीनको मोबाइल बजारमा १३.९ प्रतिशत हिस्सा मात्र राख्दै ९६ लाख मोबाइल बिक्रीमा सीमित रह्यो ।

एप्पल अहिले चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ ।