काठमाडौं। को ग्लोबल फिन्डेक्स २०२५ प्रतिवेदन अनुसार, कम र मध्यम आय भएका देशहरूमा अहिले बढी भन्दा बढी वयस्कले बैंक वा अन्य वित्तीय खाता प्रयोग गर्न थालेका छन्। यसले औपचारिक बचतमा उल्लेखनीय वृद्धि गराई वित्तीय समावेशीतालाई नँया गति प्रदान गरिरहेको जनाइएको छ ।
मोबाइल फोन प्रविधिले यस उपलब्धिमा अहम् भूमिका खेलेको छ। सन् २०२४ मा विकासशील अर्थतन्त्रमा १० प्रतिशत वयस्कले मोबाइल मनी खातामार्फत बचत गरेका थिए, जुन सन् २०२१ को तुलनामा ५ प्रतिशत बिन्दुको वृद्धि हो।
त्यसैगरी, सन् २०२४ मा ४० प्रतिशत वयस्कले वित्तीय खातामार्फत बचत गरेका थिए, जसलाई सन् २०२१ को तुलनामा १६ प्रतिशत बिन्दुले बढी मानिएको छ । प्रतिवेदन अनुसार,यो वृद्धिदर विगत दशककै सबैभन्दा उच्च हो। बैंक वा अन्य औपचारिक संस्थामार्फत हुने व्यक्तिगत बचतले राष्ट्रिय वित्तीय प्रणालीलाई सुदृढ बनाई लगानी, नवप्रवर्तन र समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउँछ।
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाले भन्छन , “वित्तीय समावेशीताले जीवनमा सुधार ल्याई सम्पूर्ण अर्थतन्त्रको रूपान्तरण गर्न उत्प्रेरको भूमिका खेल्दछ । यस प्रकारको समावेशीता डिजिटल वित्तीय सेवाको विस्तारविना असम्भव प्राय: हुन्छ,"। "यसैले यस्तो वित्तीय सेवाको विस्तार गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने तर्फ विश्व बैंक समूह उन्मुख छ । हामी विभिन्न देशहरूलाई नागरिकका लागि डिजिटल परिचयपत्र उपलब्ध गराउन र डिजिटल नगद स्थानान्तरण प्रणालीमा आधारित सामाजिक सुरक्षा कार्यक्रम विकास गर्न सहयोग गरिरहेका छौ। यसैगरी , हाम्रो प्रयास भुक्तानी प्रणालीलाई आधुनिकीकरण र नियामकीय अवरोधहरूको सम्बोधन गर्ने तर्फ पनि लक्षित छ",।
त्यस्तैगरी, गेट्स फाउन्डेसनका अध्यक्ष एवम ग्लोबल फिन्डेक्सक सहयोगी बिल गेट्सले भन्छन, “अहिले पहिले भन्दा धेरै व्यक्तिहरू—महिला तथा पिछडिएका समूहसमेत—आफ्नो आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक वित्तीय उपकरणहरू पाउन थालेका छन्। यो साँच्चिकै महत्त्वपूर्ण प्रगति हो। समावेशी वित्तीय प्रणाली, डिजिटल सार्वजनिक पूर्वाधार र जडानक्षमतामा लगानी गर्नु भनेको सबैका लागि सुनौलो अवसरको ढोका खोल्नु सरह हो।”
ग्लोबल फिन्डेक्सले वित्तीय सेवामा पहुँचसम्बन्धी विश्वव्यापी तथ्यांक उपलब्ध गराउँछ—जसमा भुक्तानी, बचत र ऋणको अवस्था समेटिएको हुन्छ। । यस संस्करणमा वित्तीय समावेशीताको ऐतिहासिक उपलब्धि देखिएको छ—सन् २०११ मा ५० प्रतिशत वयस्कसँग मात्र वित्तीय खाता थियो भने अहिले यो संख्या झण्डै ८० प्रतिशत पुगेको छ। तर अझै पनि १.३ अर्ब वयस्क वित्तीय सेवाबाट वञ्चित छन्।
मोबाइल फोनले यो खाडल घटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्व बैंक समूह ठोकुवा गर्छ। हाल खाताविहीन अवस्थामा रहेका ९० करोड वयस्कहरूमध्ये ५३ करोडसँग स्मार्टफोन रहेको बताइन्छ।
यसपटकको फिन्डेक्सले वित्तीय खाताको सम्बन्धमा व्याप्त लिङ्ग भेदको न्यूनिकरण भएको तथ्य प्रस्तुत गरेको छ। विश्वभर ८१ प्रतिशत पुरुष र ७७ प्रतिशत महिलाले वित्तीय खाता प्रयोग गरिरहेका छन्। कम र मध्यम आय भएका देशहरूमा महिलाको खाता स्वामित्व २०११ को ३७ प्रतिशतबाट बढेर २०२४ मा ७३ प्रतिशत पुगेको छ।
यस पटक पहिलोपटक प्रतिवेदनमा मोबाइल फोन स्वामित्व र इन्टरनेट प्रयोगसम्बन्धी विवरण पनि समावेश गरिएको छ। ग्लोबल फिन्डेक्स डिजिटल कनेक्टिभिटी ट्र्याकर २०२५ अनुसार, विश्वभर ८६ प्रतिशत वयस्कसँग मोबाइल फोन छ, जसमा ६८ प्रतिशतसँग स्मार्टफोन छन्।
यद्यपि मोबाइल फोनको बढ्दो प्रयोगसँगै सुरक्षा सम्बन्धी नयाँ चुनौतीहरू पनि देखिएका छन्। कम र मध्यम आय भएका देशका चार अर्ब मोबाइल प्रयोगकर्तामध्ये आधाले मात्र आफ्नो फोनमा पासवर्ड राख्ने गरेका छन्।
त्यस्तै, विकसित मुलुकहरूमा जस्तै अब विकासशील देशहरूमा पनि झनै बढी वयस्कहरूले मोबाइल वा कार्डमार्फत पसलमा वा अनलाइन माध्यमबाट भुक्तानी गर्न थालेका छन्। सन् २०२४ मा ४२ प्रतिशत वयस्कले यस्ता डिजिटल भुक्तानी गरेका थिए, जुन सन् २०२१ को ३५ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हो।
"अझ महत्त्वपूर्ण कुरा के छ भने—सरकारी भुक्तानी प्राप्त गर्ने तीनमध्ये दुई व्यक्ति र आधा ज्यालादारी कामदारले पैसा सिधै खातामा पाएका छन्, जसले चोरी तथा अनियमितता कम गर्न सहयोग पुगेको छ,"ग्लोबल फिन्डेक्स २०२५ प्रतिवेदन भन्छ।
आर्थिकन्यूज