शीर्षकहरू

एक्कासि बढ्यो घरजग्गाको कारोबार, व्यवसायी नै परे आश्चर्यचकित!

एक्कासि बढ्यो घरजग्गाको कारोबार, व्यवसायी नै परे आश्चर्यचकित!

काठमाडौं । २०८२ असार महिनामा घरजग्गाको कारोबारसँगै त्यसबाट संकलन हुने राजस्व पनि ह्वात्तै बढेको छ । यस वर्षको असार महिनामा गत वर्ष २०८१ सालको असारको तुलनामा घरजग्गाबाट संकलन हुने राजस्व ४२ प्रतिशतले वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार असारमा घरजग्गाको कारोबार १३.६८ प्रतिशतले वृद्धि भएको छ । 

गत वर्षको असारमा घरजग्गाको कारोबारबाट ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्षको असारमा ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँ राजस्व उठेको छ । घरजग्गाको कारोबारमा सुधार आएपछि राजस्वमा पनि वृद्धि देखिएको हो । 

यसैगरी, यस वर्षको असारमा घरजग्गा सम्बन्धी कारोबार १ लाख ५४ हजार ७२० पटक भएको छ । जसमध्ये ५५ हजार ५२४ पटक लिखत पारित भएको छ । गत वर्षको असारमा १ लाख ३६ हजार ९३ पटक कारोबार भएकोमा ४६ हजार १७९ पटक लिखत पारित भएको थियो । जुन १३.६८ प्रतिशतको वृद्धि हो ।

विगत ४ वर्षदेखि घरजग्गाको व्यापार सुस्त देखिएपनि छ । यस वर्ष जेठसम्म पनि घरजग्गको कारोबार सुस्त नै थियो । तर, असारमा भने कारोबार ह्वात्तै बढेको छ । असारमा किन कारोबार एक्कासि बढ्यो भन्नेबारे स्वयंम रियलस्टेट व्यवसायी नै चकित परेका छन् । सामान्यतया यस वर्षको जेठ महिनासम्म सुस्त नै रहेको घरजग्गाको कारोबार असार महिनामा भएको ह्वात्तै बढेको देख्दा आफू अचम्ममा परेको नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनी बताउँछन् । 

उनी भन्छन्, 'यस वर्षको असारमा विगत केही वर्षकै उच्च कारोबार भएको छ । कारोबार एक्कासी ह्वात्तै किन बढ्यो भन्ने विषयमा म अचम्ममा परेको छु ।’ तर, एक महिनाको कारोबारलाई हेरेर यस क्षेत्रको अवस्थाको बारेमा विश्लेषण भने गर्न नसकिने उनको भनाई छ । उनका अनुसार असारमा एक महिना कारोबार ह्वात्तै बढे पनि समग्र एक वर्षको तुलना गर्दा सामान्य रुपमा मात्रै वृद्धि देखिएको छ । त्यसैले यस क्षेत्र चलायमान भइसकेको अवस्था भने नरहेको उनको दाबी छ । 

असार महिनामा विशेषगरी हिसाब मिलान गर्नुपर्ने, ऋण तिर्न घरजग्गा बिक्री गर्नुपर्ने अवस्था लगायतका विविध कारणले कारोबार तथा राजस्व वृद्धि भएको उनको भनाई छ । तर, कारोबार र राजस्व जुन किसिमले वृद्धि भएको छ त्यो अनुसार बजार चलायमान भएको भने नदेखिएको उनले बताए । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति मार्फत रियलस्टेट क्षेत्र चलायमान गराउने गरी केही व्यवस्था गरेको छ । पहिलो घर खरिद गर्नेको हकमा लोन टु भ्यालु रेसियो ८० प्रतिशत, व्यक्तिगत जग्गा खरिद गर्दा ३ करोडसम्मको कर्जा सीमा कायम गरेको छ । यस अघि २ करोड रुपैयाँसम्मको सिमा थियो । यसले गर्दा घरजग्गा क्षेत्र चलायमान हुने विश्लेषण व्यवसायीहरुले गर्दै आएका छन् । पूर्व अध्यक्ष लोहनीले मौद्रिक नीतिका केही सुधारात्मक व्यवस्थाले घरजग्गाको कारोबार चलायमान हुने आशा व्यक्त गरेका छन् । 

तर, यो असार महिनाको कारोबारमा भने मौद्रिक नीतिको प्रभाव नपरेको उल्लेख गर्दै उनले भने, 'मौद्रिक नीतिपछि ५ दिन त कारोबार भयो । ५ दिनको कारोबारले यसरी प्रभाव देखाउँदैन ।’

मौद्रिक नीतिको सो व्यवस्थाले गर्दा आगामी दिनमा भने रियलस्टेट क्षेत्र चलायमान हुने उनको विश्लेषण छ । तर, विगत ४ वर्षको लयमा भने फर्किन सकिने अवस्था नरहेको उनको भनाई छ । उनले भने, 'अब बजार चलायमान त हुन्छ । यस वर्ष, गत वर्षको भन्दा राम्रो कारोबार हुन्छ । तर, विगत ४ वर्षको जसरी कारोबार भने हुँदैन । त्यसका लागि सरकारले अझै केही नीतिगत सुधार गर्न जरुरी रहेको छ ।’

उनले घरजग्गा चलायमान तथा व्यवस्थित बनाउन सहरी ऐन ल्याउनु पर्ने, ल्याण्ड पुलिङ तथा हाउजिङ पुलिङ निजी क्षेत्रलाई दिनुपर्ने, घरजग्गा खरिद बिक्री गर्ने कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, शेयर खरिद गरे जसरी घरजग्गा किने बेच गर्न मिल्ने गरी सिस्टम बसाउनुपर्ने धारणा राखे ।