शीर्षकहरू

३ करोडसम्मको घर कर्जा : पहिलो पटक घर लिनेहरूका लागि नयाँ अवसर

३ करोडसम्मको घर कर्जा : पहिलो पटक घर लिनेहरूका लागि नयाँ अवसर

काठमाडौं । पहिलो पटक घर खरिद वा निर्माण गर्नेलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले कर्जाको सीमा वृद्धि गरेको छ । ‘आफ्नै घर होस्’ भन्ने आम नेपालीको सपना पुरा गर्न नेपाल राष्ट्र बैंकले लचिलो नीति अघि सारेको हो ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले गत साता चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै घर कर्जाको सीमा बढाएर ३ करोड रुपैयाँ पु¥याएको घोषणा गरेका थिए । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै यो व्यवस्था साउन १ (आज) देखि लागू हुने जनाएको छ ।

नयाँ व्यवस्था अनुसार आवासीय घर खरिदको लागि ३ करोडसम्मको कर्जा प्राप्त गर्न सकिनेछ । साथै, यस्तो कर्जा लिंदा धितोको मूल्यको अधिकतम ८० प्रतिशत कर्जा पाइनेछ । 

तर, यस्तो कर्जा लिदा ऋणीले आफूले मात्र प्रयोग गर्ने गरी बढीमा तीन हजार वर्ग फिटसम्मको घर वा अपार्टमेन्ट किन्नुपर्ने शर्त रहेको छ । यस प्रकारको कर्जा लिने व्यक्तिले पहिले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट घर/अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको कुरा सुनिश्चित गर्नुपर्नेछ ।

यस्तो कर्जा लिएपछि घर भाडा रकमलाई ऋणीको आम्दानीको स्रोतको रूपमा प्रस्तुत गर्न सकिने छैन । यदि कर्जाको ब्याजदर वृद्धि भएमा, ऋणीलाई पूर्व निर्धारित मासिक किस्ता बढाउन नपर्ने व्यवस्था मिलाइनेछ ।

यस अघि, पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिहरूलाई २ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध थियो, र उक्त कर्जामा धितोको मूल्यको ७० प्रतिशत सम्म मात्रै कर्जा पाइन्थ्यो ।

नयाँ व्यवस्थामा भने घरजग्गा कर्जा र सोको धितो सुरक्षणको ऋण मूल्य अनुपात ५० प्रतिशत कायम गरिएको छ । निजी आवासीय घर कर्जा र नेपाल सरकारबाट स्वीकृत, दर्ता भई सञ्चालित घर निर्माण व्यवसाय÷कम्पनीबाट कर्जा प्राप्त गर्ने व्यक्तिहरूको लागि यो अनुपात ७० प्रतिशतसम्म बढाइएको छ । यसअघि यो अनुपात ६० प्रतिशत थियो।

नयाँ नियमले आम सर्वसाधारणमा सकारात्मक प्रभाव पार्ने विज्ञहरु बताउँछन् । खासगरी पहिलो पटक घर किन्ने वा बनाउने चाहनेहरूका लागि अब ३ करोडसम्मको कर्जा लिन सकिने भएकाले धेरैलाई घर खरिद गर्न सहज हुनेछ । साथै धितोको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइनेले घर बनाउन वा किन्न चाहनेहरूको लागि थप मौका प्रदान गर्नेछ । तर, ३ हजार वर्गफिटको सिमितता र भाडा आम्दानीको स्रोतको रूपमा स्वीकार नगर्ने नियमले केही व्यक्तिहरूका लागि भने कठिन हुन सक्नेछ ।