शीर्षकहरू

धितोपत्रको कारोबारमा ऐतिहासिक रेकर्ड, अन्य परिसूचकमा पनि उल्लेख्य सुधार

धितोपत्रको कारोबारमा ऐतिहासिक रेकर्ड, अन्य परिसूचकमा पनि उल्लेख्य सुधार

काठमाडौं । पाँच वर्ष पछि धितोपत्रको दोस्रो बजारमा कारोबार रकमले रेकर्ड कायम गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो।

आव २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएको थियो । यस अघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै रकम (१४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ) को कारोबार भएको थियो । 

यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको  छ । 

आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन् ।

प्रथम निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामुहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।