शीर्षकहरू

नेप्सेको वेबसाइटमा अड लट खरिद विक्री आदेश देख्न सकिने

नेप्सेको वेबसाइटमा अड लट खरिद विक्री आदेश देख्न सकिने

काठमाडौं । अब देखि नेप्सेको वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा विक्री आदेश देख्न सकिने भएको छ । आफूसँग अड लट धितोपत्र हुँदा खरिद विक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन गर्दै नेप्से आज (बिहीवार) देखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो । 

धितोपत्र कारोबार विनियमावली २०७५ मा अड लट कारोबार सम्बन्धी व्यवस्था छ । यस अनुसार धितोपत्रको अंकित मूल्य १० भएमा १०० कित्ता, अंकित मूल्य १०० भएमा १० र अंकित मूल्य १००० भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ । 

विनियमावलीले उल्लिखित भन्दा कम कित्ताको कारोबारलाई अड लट कारोबार भनेर परिभाषित गरेको छ । अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिदैन । 

धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्राएर अडलट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ ।