शीर्षकहरू

सवा २१ खर्बको शेयर कारोबार हुँदा सरकारले पायो साढे १६ अर्ब पुँजीगत लाभकर

सवा २१ खर्बको शेयर कारोबार हुँदा सरकारले पायो साढे १६ अर्ब पुँजीगत लाभकर

काठमाडौ । सरकारले आर्थिक वर्ष २०८१-८२ मा शेयर कारोबारबाट १६ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । सरकारले शेयर लगानीकर्ताबाट हालसम्मकै उच्च पुँजीगत लाभकर प्राप्त गरेको हो ।

आर्थिक वर्ष २०८१-८२ मा कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । ५ वर्ष पछि धितोपत्रको दोस्रो बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो । कारोबार रकम आर्थिक वर्ष २०८०-८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो।

आव २०८०-८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएको थियो । यस अघि आर्थिक वर्ष २०७७-७८ मा सबैभन्दा धेरै रकम १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो । 

शेयर कारोबार उच्च हुँदा सरकारले शेयर लगानीकर्ताबाट हालसम्मकै उच्च पुँजीगत लाभकर प्राप्त गरेको हो । गत आर्थिक वर्षमा शेयर कारोबारबाट सरकारले कुल १६ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । गत आर्थिक वर्षको पूँजीगत लाभकर अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा तीन गुणा बढी हो । यसअघि आर्थिक वर्ष २०८०-८१ मा भने सरकारले ५ अर्ब ५१ करोड पुँजीगत लाभकर पाएको थियो।

शेयर लगानीकर्ताहरूले हरेक कारोबारमा नाफा भएमा सरकारलाई कर तिर्नुपर्छ । एक वर्षभन्दा कम अवधिमा भएको नाफामा लगानीकर्ताले ७.५ प्रतिशत तथा सो अवधिभन्दा धेरै समयबाट भएको नाफामा ५ प्रतिशत पुँजीगत लाभकर तिर्छन् । शेयर बजारको कारोबार रकममा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्ने गर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ।

एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेहरुबाट मात्रै सरकारले आर्थिक वर्ष २०८१-८२ मा ९ अर्ब ८० करोड लाभकर पाएको छ । सिडिएससीका अनुसार गत आर्थिक वर्ष साउन महिनामा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।

यस्तै भदौमा २ अर्ब ५७ करोड ९४ लाख, मंसिरमा १ अर्ब ४ करोड ६ लाख, माघमा १ अर्ब ५ करोड ७० लाख, वैशाखमा १ अर्ब २२ करोड ९२ लाख पुँजीगत लाभकर उठेको थियो । यस्तै गत जेठमा १ अर्ब १७ करोड ८२ लाख तथा असारमा १ अर्ब २७ करोड १२ लाख पुँजीगत लाभकर संकलन भएको छ ।

सिडिएससीका अनुसार असोज, कात्तिक, पुस र चैतमा लाभकर अर्बभन्दा कम रहेको छ । असोजमा ५८ करोड ६५ लाख, कात्तिकमा ७५ करोड ८७ लाख, पुसमा ५८ करोड ७ लाख र चैतमा ६९ करोड ३५ लाख रुपैयाँ लाभकर उठेको छ । यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको  छ ।

आर्थिक वर्ष २०८१-८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन् ।

प्रथम निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता शेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता शेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता शेयर, सामुहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।