शीर्षकहरू

सुविधा सम्पन्न धरहरामा शौचालय पुग्नै सकस, अवलोकन गर्नेको संख्या बढ्दै

सुविधा सम्पन्न धरहरामा शौचालय पुग्नै सकस, अवलोकन गर्नेको संख्या बढ्दै

काठमाडौं । ऐतिहासिक र पुरातात्वीक महत्व बोकेको काठमाडौं सुन्धाराको धरहरा यतिबेला भरिभराउ छ । साउन १ गतेदेखि दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला भएपछि अवलोकनकर्ताहरुको भीड बढेको छ ।

२०७२ वैशाख १२ को भूकम्पले पुरानो धरहरा ढलेपछि ढिलागरी ६ बर्षपछि पुनःनिर्माण सकिएको धरहरा असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित अवलोकन गर्ने व्यवस्था गरिएको थियो । 

सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले संचालित धरहरा हाल हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

सर्वसाधारणको चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय बढाइएको छ । १२ घण्टा धरहरा सन्चालन गर्नुका साथै सार्वजनिक दिनमा पनि धरहरा खुल्ला गरिएको छ ।  यसरी १२ धण्टा धरहरा सन्चालनमा ल्याएपछि धरहरा अवलोकन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

समय बढेसँगै पहिलाको भन्दा ५० प्रतिशतले अवलोकन गर्नेहरुको संख्या वृद्धि भएको धरहरा अन्तरिम सञ्चालक तथा व्यवस्थापन कार्यालयका प्रमुख महेश राईले बताए । उनले  बिहान र बेलुकाको सिफ्टमा गरि ४५ प्रतिशत थप मान्छेहरु आउने गरेको बताए ।

उनले भने, ‘२०८२ साउन १ गतेबाट सरकारले निर्णय गरेअनुसार १२ घण्टा अर्थात धरहरा दुई सिफ्टमा सन्चालनमा ल्याएका छौं । दुई–दुई सिफ्टमा गर्दाखेर राम्रो भएको छ । बिहान र बेलुकाको सिफ्टमा गरि ४५ प्रतिशत मानिस आउने गरेका छन् । यो हामीले गरेको पहिलो र दोस्रो दिनको तथ्यांक अनुसार पहिलाको भन्दा ५० प्रतिशतले वृद्धि भएको छ ।’यसैगरी उनले आन्तरिक रुपमा धरहरा सन्चालनमा आए पनि सुधार गर्नुपर्ने पक्षहरु धेरै रहेको बताए ।

शौचालयप्रति गुनासो

धरहरा अवलोकनमा आगन्तुकहरुको भीड बढेपनि आन्तरिक व्यवस्थापनमा प्रशस्त कमजोरी रहेको अवलोकनकर्ताहरुको गुनासो छ । धरहरा संचालन प्रमुख राईल शौचालय व्यवस्थापन अझै राम्रोसँग भइनसकेको स्वीकार गरे ।उनले  शौचालय, सरसफाइ, सुरक्षा, पार्किङ्ग जस्ता विषयलाई अझै धेरै व्यवस्थित रुपमा लानुपर्ने औंल्याए । 

‘आन्तरिक रुपमा धरहरा सन्चालनमा आएको छ । सुधार गर्नुपर्ने कुरा धेरै नै छन्,’उनले भने, ‘तरपनि हामीले दिएको स्रोत साधन मध्यपनि शौचालय, सरसफाइ, सुरक्षा, पार्किङ्ग जस्ता विषयलाई अझै धेरै व्यवस्थित गर्नुपर्ने देखिएको छ ।’ उनले हाल सरकारले पनि सहयोग गरिरहेकाले केही सहज भएको बताए । केहि महिना पश्चात निजी क्षेत्र(लिजिङ्ग प्रोशेस)मा धरहरालाई लगिने बताए ।

उनले अहिलेको यहाँको पूर्ण शुल्क २०० रुपैयाँ रहेको तर बालबालिका र बुढाबुढी विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिने गरेको समेत बताए । विशेष समिति तयार गरेर नीजि क्षेत्रले संचालन गर्नेभएपछि थप व्यवस्थित हुँदै जाने उनले बताए । 

धरहरालाई अझै बढी सेवा सुविधाहरु जस्तो मोबाइल बैकिङ्ग, मनोरन्जन साधनहरु थपिदै लगिने पनि राईले जानकारी दिए ।

आगन्तुकहरुको सुझाव 

धरहरा अवलोकन गर्न आएकाहरुले प्रशस्त मनोरन्जन लिएको सुनाए । तनहुँका सुुदिप घिमिरेले अवलोकनका क्रममा रमाइलो भएता पनि शौचालयको व्यवस्था भै दिएको भए सहजीकरण हुनेथियो भन्दै गुनासो गरेका थिए । उनले पहिलाको धरहरा भन्दा अहिलेको धरहरामाा धेरै सुविधा भएको र धेरै संख्यामा एकैपटक अवलोकन गर्न सकिने समेत बताए । उनले सेवा शुल्क भने केहि घटाउनुपर्ने समेत सुझाव दिए ।

‘माथिसम्म आइपुग्दा एकदमै रमाइलो भएको छ । धेरै समयदेखि आउने रहर थियो । ३६० डिग्रीमा काठमाडौं देख्न पाइएको छ । शौचालय टाढा भएकाले यसमा ध्यान दिनुपर्ने देखियो । तर हालको धरहरा धेरै मान्छे अटाउन सक्ने रहेछ । पहिलेको धेरै साँघुरो थियो । तर शुल्क भने घटाउनु पर्ने देखिन्छ,’ उनले भने ।

त्यस्तै अर्का अवलोकनकर्ता  श्याम श्रेष्ठले सुविधा राम्रो लागेको सुनाए । उनले पूरानो धरहरा चढ्न आँउदा मन नपरेर फकिएको तर अहिले चढौं चढौं लाग्ने भएको सुनाए । उनले टिकट शुल्क घटाउनु पर्ने सुझाव दिए । 

धरहरा हेर्न आएकी कक्षा ५ मा अध्ययनर छात्रा आशा श्रेष्ठले धरहरा चढ्दा रमाइलो भएको भन्दै अर्कोपटक साथीहरुसँग आउने सुनाइन् ।

त्यस्तै अर्को अवलोकनकर्ता रस्मिता श्रेष्ठले मान्छे धेरै भीडभाड भएतापनि रमाइलो भइरहेको बताइन् । उनले  सेवा  सुविधा सबै भएपनि खानेकुराहरु किन्नका लागि भित्रनै व्यवस्था हुनुपर्ने सुझाव दिइन् । उनले पनि शौचालय टाढा रहेको गुनासो गरिन् ।

गएको मङ्सिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो । धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

यहाँबाट काठमाडौंको दृश्य अवलोकन गर्न पुरानै शैलीमा बाल्कोनीबाट करिब डेढ सयभन्दा बढी मानिसले एकै पटकमा अवलोकन गर्न सक्ने क्षमता छ । टावरभित्र विद्युत् केबलिङ फायर फाइटिङका साथै फायर अलाम सूचना प्रवाह गर्न स्पिकर, सिसिटिभि क्यामरा जडान गरिएको छ ।

परिसरमा प्रवेश गर्ने र बाहिरिने गरी पाँचवटा ढोका छन् । दुईवटा टिकट काउन्टरसहित गार्ड घर निर्माण गरिएको छ । परिसरभित्र  निकै कलात्मक शैलीमा कोरिडोर र चारवटा प्रतीक्षालय निर्माण गरिएको छ ।आवश्यक पर्ने सार्वजनिक शौचालय, सूचना कक्ष, चमेनागृह परम्परागत पाटीलगायतका संरचना निर्माण गरिएको छ । रस्मिता गिरी (नेपाल न्यूज बैंक)